नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ ।
बाह्रबीसे नगरपालिका-५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका-३ स्थित प्राधिकरणको बाह्रबीसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ । कूल दुई सय २० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैँ अगाडि सकिने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका-२ का सङ्घीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, बाह्रबीसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो । बाँधक्षेत्रको निर्माण सम्पन्न गरी पानी हालेर परीक्षणसमेत भइसकेको छ ।
आयोजनाको मुख्य सुरुङ निर्माणगरी गत वर्षको फागुनमा परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफाइ भइरहेको छ भने १५ दिनपछि सुरुङमा पानी भर्न सुरु हुनेछ ।
विद्युतगृहमा सिभिल निर्माण सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणको ‘वेट टेस्ट’ सुरु हुनेछ । बाँकी सम्पूर्ण काम एक महिनाभित्र सम्पन्नगरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ ।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोगगरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ । कूल २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । कूल दुई सय २० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर सोही लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिव श्री हाइड्रोपावरले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा पु¥याउने काम भइरहेको छ । उक्त कार्य दसैँ अगाडि सम्पन्न गर्नेगरी काम भइरहेको छ ।
सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती-बाह्रबिसे वा बाह्रबिसे-काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहनेछ । उक्त लाइनहरु सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ । जुरे पहिरो, महाभूकम्प, नेपाल-भारत सीमानाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड-१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनले मध्यभोटेकोशीको निर्माण प्रभावित भएको थियो ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक रु १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनीको र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको एक प्रतिशत शेयर रहेको छ ।
कुल ४९ प्रतिशत साधारण शेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकवासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत शेयर) रहेका छन् । कम्पनीले साधारण शेयर निष्काशन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु आठ रुपैयाँ ४० र चार रुपैयाँ ८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु दुई अर्ब ८० करोड आम्दानी हुनेछ ।
प्रतिक्रिया