लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु


लेबनानमा सोमबार (७ असोज) इजरायली आक्रमणमा मर्नेहरूको सङ्ख्या दुई सय ७४ पुगेको लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बताएका छन् । यसमा २१ जना बालबालिका छन् भने हजारौँ परिवार बमबारीबाट भागेका छन् ।

‘एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो’- अबियादले पत्रकार सम्मेलनमा भने, ‘लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन् ।’

उनका अनुसार हिजबुल्लाह पेजर र वाकी-टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।

इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी शहर र गाउँहरूमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ । मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरू पनि छन् ।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।