१६ वर्षअघि हत्या गरिएकी महिलाको शव सिमेन्टमा जमेको अवस्थामा

१६ वर्षअघि हत्या गरिएकी महिलाको शव सिमेन्टमा जमेको अवस्थामा


दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई घरको बालकोनीमा सिमेन्टको तहमुनि गाडेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको छ ।

ग्योङ्गनाम प्रान्तीय प्रहरी र गेओजे प्रहरी चौकीका अधिकारीहरुले जनाएअनुसार हाल ५० वर्ष उमेरका ती पुरुषलाई सन् २००८ को अक्टोबरमा झगडाको क्रममा महिलाको हत्या गरेको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार उनले महिलालाई कुनै भुत्ते हतियारले प्रहार गरी हत्या गरे र, उनको शरीरलाई एउटा ठूलो झोलामा राखे । त्यसपछि उनले शवलाई आफ्नो बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह खन्याएर लुकाए । ती महिला आफ्नो परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो ।

सन् २०११ को हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन ।

शवलाई सानो बालकोनीको स्थानमा फिट गरिएको र त्यो कोठा ‘सन् २०१६ देखि लगभग खाली’ रहेकाले शवको खोजी पहिले नगरिएको प्रहरी अधिकारीले पत्रकारहरूसँग बताएका एएफपीले जनाएको छ ।

त्यस वर्ष अपराधीलाई लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो । गत महिना उक्त बलकोनीमा पानी चुहावटको खोजी गर्दा एक कामदारले झोला फेला पारेपछि शवबारे खुलासा भएको थियो । निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो ।

‘शरीर पूरै रूपमा हाडखोरमा परिणत नभएकाले हामीले औँठाछापमार्फत उनको पहिचान गर्न सक्यौँ’, प्रहरीले भनेको छ । ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए ।