- सुरेन्द्र सुवेदी, काठमाडौं
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङले रचना गरेको गीतमा भारतीय सुबिख्यात गायिका आशा भोसलेले श्वर दिएकी छन् । ९२ वर्षीया भोसलेले यो गीत युगल गाएकी हुन् । भोस्लेसित नेपाली गायक इलामका मोहन राईले संयुक्त श्वर दिएका हुन् ।
भोसले र राईले एआइजी तामाङले रचना गरेको ‘यो हाम्रो माया’ बोलको गीतमा स्वर दिएका हुन् । यो गीतको संगत भर्ने काम भने रञ्जित गजमेरले गरेका छन् । संगीतकार गजमेर पनि पाका भइसकेका छन् । उनको हालको उमेर ८४ वर्ष छ । ९२ वर्षकी भोसले गायक र ८४ वर्षका गजमेर संगीतकार भएर पछिल्लो समय यो नेपाली गीत रेकर्ड भएको हो ।
गायक राईले भने, ‘भोसलेसँग गाउन पाउनु मेरा लागिमात्र नभएर देशकै गर्वको क्षण हो ।’ उनले यस्तो दुर्लभ अवसरको भागीदार बन्न पाउँदा हर्षको सीमा नै नभएको बताए ।
राईले पूर्व प्रधानमन्त्री झलनाथ खनाल, भारतको सिक्किम प्रान्तका पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङ, पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता वामदेव गौतमसमेतका गीत यसअघि नै गाइसकेका छन् ।
गीतकार एआइजी तामाङ दर्जनौंकोे संख्यामा नेपाली गीत, भजन, आधुनिक गीतदेखि राष्ट्रिय गीतसम्मका गीतकार हुन् । उनका केही थान पुस्तक पनि बजारमा आइसकेका छन् । तामाङ फुर्सदको समयमा लेखनमा व्यस्त रहने देशकै विशिष्ट श्रेणीका सुरक्षा अधिकारी हुन् ।
प्रतिक्रिया