झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा


झापामा गएरातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताएका छन् ।

उनका अनुसार पानी निरन्तर परिरहेको छ, कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढ्दै गएको छ, नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ ।

वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले जानकारी दिए ।

यसैबीच कचनकवल गाउँपालिका-२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज (११ असोज) दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार मोटरसाइकलचालक सोही ठाउँ बस्ने वर्ष २७ का रवीन भट्टराई भने सकुशल छन् ।

यस्तै, झापाको चन्द्रगढी विमानस्थलमा गए रातिदेखिको अविरल वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार कुनै पनि उडान तथा अवतरण नभएको विमानस्थलका सूचना अधिकारी वीरेन्द्र भट्टराईले जानकारी दिए । दिउँसो केही समयका लागि विमानस्थल खुलेपनि फेरि बन्द भएको उनले बताए ।