पवित्र गोसाइँकुण्ड नजिकै एकआपसमा जोडिएर रहेका कतिपय होटेलले मासु, अण्डा र मदिरा बिक्री गर्नु अत्यन्तै दुःखद पक्ष हो ।
✍ मुक्तिनाथ भुसाल
गोसाइँकुण्ड दर्शनका लागि पैदल यात्रा गर्ने यात्रीहरूले सास्ती खेप्दै आएका छन् । हिमाली जिल्ला रसुवामा अवस्थित महत्वपूर्ण धार्मिक स्थल गोसाइँकुण्ड सामुन्द्रिक सतहदेखि ४३८० मिटर उचाईमा रहेको छ । देव र दानवद्वारा समुन्द्र मन्थनका क्रममा उत्पन्न भएको महाविनासक कालकुट विषलाई भगवान् शंकरले सेवन गर्नुभएको र विषको जलनबाट आराम पाउन यस स्थानमा आइ पर्वतबाट पानी निकालेर भगवान् शिवले पानीभित्रै आराम गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ । त्रिशुली नदीको मुहान गोसाइँकुण्डमा पुग्न सोचेजस्तो सहज छैन । त्यसो त आर्थिक जोहो गर्न सक्नेहरू हेलिकप्टरको माध्यमबाट गोसाइँकुण्डमा पुगेपनि अन्यका लागि पैदल यात्राको विकल्प देखिँदैन ।
रसुवाको सदरमुकाम धुन्चेदेखि ठिक १५ किलोमिटर उकालो पहाड चढेपछि गोसाइँकुण्ड पुग्न सकिन्छ । जाँदा उकालो र फर्कंदा ओरालो गोरेटो बाटो यात्रा पूरा गरिसकेपछि आफैमा अविष्मरणीय अनुभूति हुन्छ । पहाड चढ्न रुचाउने विदेशी तथा स्वदेशी जवान युवायुवतीहरूले दिनहुँ गोसाइँकुण्ड यात्रालाई प्राथमिकतामा राखेको पाइन्छ । वृद्ध, बालबालिका एवम् रोगीहरूका लागि गोसाइँकुण्ड यात्रा चुनौतीपूर्ण बन्न सक्दछ । गोसाइँकुण्ड जाँदा घोडाको प्रयोग गर्न सकिए पनि फर्कंदा ओरालो बाटोका कारण पैदल नै हिँड्नु पर्दछ । सामुन्द्रीक सतहदेखि ३९५० मिटर उचाईमा रहेको लौरीविनादेखि गोसाइँकुण्डसम्म अक्सिजन नपुग्ने कारण धेरै नै सावधानी अपनाउनुपर्ने हुन्छ । लौरीविनाबाट अक्सीजनको कमी हुने कारण कतिपय यात्री समस्यामा पर्ने भएपनि समस्या निराकरणका लागि हारगुहार गर्न राज्यका स्वास्थ्यसंस्था एवम् सुरक्षा निकाय उल्लेखित स्थानमा पाउन सकिँदैन ।
धुन्चेदेखि गोसाइँकुण्ड यात्रा गर्दा कतिपय स्थानमा होटल रहेका भएपनि बाटाघाटामा सार्वजनिक शौचालय तथा खानेपानी भने सहजै पाउन सकिन्न । यो बीचमा रहेका होटलहरूमा आवश्यकीय समान खच्चडबाट बोकाउनु पर्दछ । खच्चडले समान बोक्दा गोसाइँकुण्ड समान पुऱ्याएको प्रतिकेजी ४५ रुपैयाँ र अन्य स्थानमा त्योभन्दा कम लिने गरेको भएपनि चोलाङपाटीदेखि अगाडिको दररेट आश्र्चयजनक प्रतीत हुन्छ ।
चोलाङपाटीदेखि लौरीविनासम्मका होटलहरूले एक सुख्खा रोटीको रु. १५०, एक खिल्ली चुरोटको रु. ५० दरले असुल्दै गर्दा गोसाइँकुण्डमा रहेका होटलहरूले एक गिलास तातोपानीको ८० रुपैयाँ, सादा खानाको ६ सय, मासुसहितको खानाको १ हजार, एउटा मिनरल पानीको २५० र एक घन्टा मोवाइल चार्ज गरेको ३ सय रुपैयाँ शुल्क लिने गर्दछन् । ‘किन यति धेरै महँगो ?’ भनेर सोधियो भने खच्चडमा समान बोकाउनु पर्ने र व्यापार भएपनि/नभएपनि दैनिक एक हजार निकुन्जलाई भाडा तिर्नुपर्ने जवाफ पाइन्छ ।
धुन्चे बजारदेखि गोसाइँकुण्डमा समान पुऱ्याउने खच्चडव्यवसायीका अनुसार प्रतिकेजीको ४५ रुपैयाँ भाडा लिने गरिन्छ । यदि केजीको ४५ रुपैयाँ भाडा हो भने एक कार्टुन पानीको अधिकतम खरिद मुल्य १८० र खच्चडको भाडा ५४० लाई जोड्दा १२ बोतल पानी ७२० रुपैयाँमा गोसाइँकुण्ड पुग्दोरहेछ भनेर बुझ्न सकिन्छ । यस हिसाबले एक बोतल मिनरल वाटरको खरिद ६० रुपैयाँ परेको छ भने २५० मा ग्राहकलाई बिक्री गर्नु उचित हो त ? गोसाइँकुण्डमा पुगेर त्यहाँको बस्तुस्थिति हेर्दा अलौकिक शक्तिपिठ भनेर जो-कोहीले पनि स्वीकार गर्दछन् । विडम्बना ! पवित्र गोसाइँकुण्ड नजिकै एकआपसमा जोडिएर रहेका होटेलले मासु, अण्डा र मदिरा बिक्री गर्नु अत्यन्तै दुःखद पक्ष हो । मासु/अन्डाको स्थानमा पनिर, मसरुम, बदाम, जुस लगायतका शाकाहारी भोजन बिक्री गरेर पनि उनीहरूले मनग्य आम्दानी गर्न सक्ने माहोल मिलाउनु राज्यको कर्तव्य हो ।
सदरमुकाम धुन्चे बजारदेखि गोसाइँकुण्डसम्म मोटरबाटो पुऱ्याउन करिव असम्भव जस्तो देखिएपनि त्यहाँ रहेका जनप्रतिनिधिहरूले इच्छाशक्ति दर्शाएमा धुन्चेदेखि करिव १५ घरधुरी बसोबास गरेको नाउङ गाउँसम्म खनिएको मोटरबाटोलाई व्यवस्थित गरी गोसाइँकुण्ड पुग्ने यात्रीहरूलाई त्यहाँबाट एउटा पुलको माध्यमबाट वारि वा केवलकारबाट खिन्तीसम्म आवतजावत गराउन सक्ने हो भने थोरै मात्रामा भएपनि राहत पुग्ने देखिन्छ । यसैगरी, ठुलोस्याफ्रु बजारमा आएको मोटरबाटोलाई चोलाङपाटी ल्याउन खासै असम्भव लाग्दैन । यदि ठुलोस्याफ्रुबाट चोलाङपाटीसम्म मोटरबाटो ल्याउने हो भने खच्चडको माध्यमबाट दुवैतर्फका होटलहरूमा समान पुऱ्याउन सुपथ पर्दछ । लौरीविनादेखि बुद्ध मन्दिरसम्म केबलकारको योजना बनाउने हो भने सो क्षेत्रमा थप पर्यटकहरूलाई आकर्षित गर्नुका साथै गोसाइँकुण्ड यात्रा सहज बन्दछ ।
नेपालमा रहेका महत्वपूर्ण तीर्थस्थानमध्ये धेरै लामो कठिन पैदल यात्राबाट पुग्न सकिने गोसाइँकुण्डका यात्रीहरूको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गरी लौरीविनामा एउटा स्वास्थ्य चौकी एवं प्रहरी बिट राख्नेतर्फ राज्यको उपल्लो निकायले बेलैमा ध्यान पुऱ्याउनु अपरिहार्य देखिन्छ । संक्षेपमा भन्नुपर्दा त्यहाँ रहेका व्यापारीहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई चर्को रेट लगाउने, राज्य मातहतका निकुन्ज कर्मचारी र चल्तापुर्जा जनप्रतिनिधि एवं स्थानीय नेताहरूले सेवासुविधा विना व्यापारीहरूलाई निःशुल्क खाएर वा कुनै न कुनै बहानामा सताउने जस्ता प्रवृत्तिहरूको अन्त्य गरि व्यापारी र त्यहाँको यात्रा गर्ने पर्यटकहरूलाई न्याय हुनेगरी मुल्य कायम गर्नु राज्यको दायित्वभित्र पर्दछ ।
प्रतिक्रिया