इरानले इजरायलमाथि पुनः मिसाइल हमला गरेको छ । पाँच महिनापहिले अर्थात् गत अप्रिलमा पनि इरानले इजरायलमाथि मिसाइल एवम् ड्रोन हमला गरेको थियो । पछिल्लो आक्रमणबाट के कति क्षति पुग्यो भन्ने स्पष्ट भइसकेको छैन । तर इजरायली अधिकारीहरुले हमला रोकिएको र कुनै खतरा नरहेको प्रतिक्रिया दिएका छन् ।
इजरायलमाथिको हमलापछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुशी मनाइरहेको अवस्थामा देखिएका छन् । त्यहाँ बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भइ उत्सव मनाएका थिए । मिडिया रिपोर्टहरुका अनुसार यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो भने कैयनले पटाकासमेत पड्काएका थिए ।
यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आ आफ्नो धारणा तीव्र स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् । यस्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने कुरा गरेका छन् । ‘इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ । हामी हाम्रो नियममा अडिग रहनेछौं । जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौँ’, उनले भनेका छन् ।
इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्वमा थप द्वन्द्वको त्रास बढेको छ । इरान र इजरायलको युद्ध चर्किएमा तेल आपूर्ति पनि प्रभावित हुनसक्ने विश्लेषण गरिएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्यको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क हो । मंगलबारदेखि आजसम्ममै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य ६ प्रतिशतले बढिसकेको छ । अहिले कच्चा तेलको मुल्य प्रति ब्यारेल ७४.४० डलर पुगेको बताइएको छ । यस क्षेत्रमा कुनै पनि प्रकारको सैन्य द्वन्द्वले स्ट्रेट अफ हर्मुज हुँदै व्यापारलाई असर गर्न सक्ने चिन्ता व्यापारीहरूबीच बढेको छ ।
अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार इरान विश्वको सातौँ ठूलो तेल उत्पादक देश हो । यो तेल उत्पादक देशहरूको समूह ओपेक (तेल निर्यात गर्ने देशहरूको संगठन) को तेस्रो ठूलो सदस्य पनि हो ।
स्ट्रेट अफ हर्मुज ओमान र इरानको बीचमा अवस्थित छ । यो अन्तर्राष्ट्रिय तेल व्यापारको लागि महत्त्वपूर्ण छ र विश्वको तेल व्यापारको २० प्रतिशत यहाँबाट हुन्छ । ओपेकका अन्य सदस्य राष्ट्रहरू साउदी अरेबिया, युएई, कुवेत र इराकले पनि तेल निर्यातका लागि यही मार्ग प्रयोग गर्छन् ।
प्रतिक्रिया