फ्लोरिडातर्फ नजिकिँदै ‘विनाशकारी’ मिल्टन आँधी

फ्लोरिडातर्फ नजिकिँदै ‘विनाशकारी’ मिल्टन आँधी


‘विनाशकारी’ आँधी मिल्टन बुधबार आँधीप्रभावित फ्लोरिडा राज्यनजिक आइपुग्दै गर्दा अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका छन् । राष्ट्रपति जो बाइडेनले यो श्रेणी ५ को आँधी शताब्दीमा राज्यमा आइपरेको सबैभन्दा भीषण प्राकृतिक विपत्ति हुनसक्ने चेतावनी दिएका छन् ।

धेरै सातामा दोस्रो ठूलो मिल्टन फ्लोरिडाको पश्चिमी सामुद्रिक तटतर्फ बढ्दै गर्दा मानिसहरू घरहरू बन्द गर्न र भाग्न हतारिएका छन् ।

‘यो जीवन र मृत्युको कुरा हो, अतिशयोक्ति होइन’, आदेश पाएकाहरूलाई अहिले नै खाली गर्न आग्रह गर्दै बाइडेनले मङ्गलबार ह्वाइट हाउसबाट भनेका थिए । बुधबार बिहान (०९ः०० जिएमटी) सम्म मिल्टन टाम्पाको चार सय ८५ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो र राष्ट्रिय आँधी केन्द्र (एनएचसी)का अनुसार यसले दुई सय ६० किलोमिटर प्रतिघन्टाको अधिकतम निरन्तर हावा उत्पन्न गरिरहेको थियो ।

‘मिल्टन विनाशकारी श्रेणी ५ को आँधीका रूपमा रहेको छ’, आँधी बुधाबार राति फ्लोरिडाको खाडी तटमा आउने भविष्यवाणी गर्दै एनएचसीले भनेको छ, ‘यो फ्लोरिडाका पश्चिम-मध्य तटमा पुग्दा अत्यन्तै खतरनाक आँधीका रूपमा रहने अपेक्षा गरिएको छ ।’

टाम्पा शहरका मेयर जेन क्यास्टरले बासिन्दाहरूलाई चेतावनी दिँदै भने, ‘यदि खाली गर्नुपर्ने क्षेत्रहरूमध्ये एकमा बस्न रोज्नुहुन्छ भने तपाईं मर्नुहुनेछ ।’

वायुसेवाहरूले टाम्पा, अर्लान्डो, फोर्ट मायर्स र सारासोटाबाट अतिरिक्त उडानहरू थपेका छन् । राजमार्गहरूमा ट्राफिक जाम भएका थिए भने पेट्रोल पम्पहरूमा इन्धन सकिएको थियो । आँधीविशेषज्ञ माइकल लोरीले करिब ३० लाख बासिन्दा भएको टाम्पा क्षेत्रमा मिल्टनको आँधीको वृद्धि ‘दुई साताअघि हेलेन आँधीको समयमा देखिएको आँधीको वृद्धिको स्तरलाई दोब्बर बनाउन सक्छ’ भनी चेतावनी दिए । हेलेन आँधीले ठूलो बाढी ल्याएको थियो ।

नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनअघि आँधी राहत प्रयासहरू राजनीतिक युद्धभूमिका रूपमा देखिँदा बाइडेनले सङ्घीय प्रतिक्रियाको निरीक्षण गर्न जर्मनी र अङ्गोलाको प्रमुख भ्रमण स्थगित गरेका एएफपीले जनाएको छ ।

राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हेलेन आँधीपछिको आपत्कालीन प्रतिक्रियाबारे निराशाको फाइदा उठाएका छन् । उनले विपद् रकम आप्रवासीहरूमा खर्च गरिएको झुटो दाबी गर्दै गलत सूचना फैलाएर यसलाई बढावा दिएको आरोप लगाइएको छ ।

बाइडेनले ट्रम्पको टिप्पणीलाई ‘गैर-अमेरिकी’ भनेर आलोचना गरे भने उपराष्ट्रपति कमला ह्यारिसले सङ्घीय प्रतिक्रियामा गलत सूचनाको खतराबारे चेतावनी दिइन् ।

‘यो व्यवहार घटिया छ, के तपाईंलाई अरु मानिसको कष्टप्रति कुनै सहानुभूति छैन ? यदि तपाईं नेता बन्न चाहनुहुन्छ भने के तपाईंको उद्देश्यको कुनै बुझाइ छैन ?’, ह्यारिसले लेट–नाइट टक शो होस्ट स्टिफेन कोलबर्टसँगको अन्तरवार्तामा ट्रम्पलाई चुनौती दिँदै भनेकी छन् ।