भारतका औद्योगिक जगतका चर्चित व्यक्तित्व रतन टाटाको निधन भएको छ । ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो । यसअघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो । पछि उनले आफैं आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर, बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो ।
भारतीय मिडियाहरुले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको हो । रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् ।
रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए । आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुऱ्याउन ठुलो योगदान रहेको छ ।
सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन सुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो । विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई भारत सरकारले पद्मविभूषणबाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया