हडिया पुलको जीर्ण स्वरूपले यात्रा-जोखिम बढाउँदै

हडिया पुलको जीर्ण स्वरूपले यात्रा-जोखिम बढाउँदै


  • द्रोण अधिकारी, झापा

सडक नयाँ र स्तरीय भए पनि भद्रपुर-मेचीनगर जोड्ने हडिया पुलको जीर्ण स्वरूपले यात्रा जोखिम बनाइरहेको छ ।

भद्रपुर रिङरोड तथा मेचीनगर लिङ्क रोडका रूपमा रहेको भद्रपुर-९ र मेचीनगर-१५ जोड्ने हडिया खोलाको पुल मर्मतमा बेवास्ता गरिँदा भत्किएको पुलको जीर्ण स्वरूपले यात्रा जोखिम बनाइरहेको हो ।

भद्रपुर-९ घोडामाराबाट मेचीनगर-१५ ज्यामिरगढी चियाबगानमा जोडिने यो पुल दुई वर्षयता भत्कन थाले पनि मर्मतका लागि सरोकारवाला निकायले चासो नराख्दा जोखिम बढ्दै गइरहेको छ ।

पुलको पूर्व तथा पश्चिमको लिङ्क रोड जोड्ने पिलरनजिक प्वाल परेको छ भने यात्रुलाई सचेत बनाउन रूखका हाँगा गाडेर भत्किएको संकेत दिइने गरेको छ ।

दिउँसो यात्रा गर्दा भत्किएको ठाउँ सहज देखिए पनि रात्रीकालिन यात्री दुर्घटनामा पर्न सक्ने स्थानीय रामवीर राजवंशी बताउँछन् । उनका अनुसार पुलको अवस्थाबारे भद्रपुर र मेचीनगर प्रशासनलाई स्थानीयले अघिल्लै वर्ष जानकारी गराएको भए पनि मर्मतका लागि पहल नहुँदा दुर्घटनाको त्रास बढ्दै गएको छ ।

पूर्वी उत्तरी झापाका बासिन्दालाई सदरमुकाम दक्षिण यात्राका लागि छोटो छरितो मार्गका रूपमा रहेको भद्रपुर-मेचीनगर लिङ भएकै कारण अति व्यस्त सडक रहेको भए पनि पुलको जीर्ण रूपको मर्मत भने छायामा पर्दा दुर्घटना जोखिम बढिरहेको छ ।