क्यानडासँगको सम्बन्धमा तनाव बढेपछि भारतले आफ्नो राजदूत फिर्ता बोलायो

क्यानडासँगको सम्बन्धमा तनाव बढेपछि भारतले आफ्नो राजदूत फिर्ता बोलायो


क्यानडा सरकारले आफ्नो राजदूतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदूत सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ । क्यानडाले निशाना बनाएका राजदूत बर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि भारतले फिर्ता बोलाएको छ ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने उल्लेख गर्दै राजदुतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ । भारत सरकारले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोटबैंकबाट प्रेरित रहेको जिकिर गरेको छ ।

विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए, तर क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बताएको छ ।

जुन १८, २०२३ को साँझ क्यानडाको सरे शहरको गुरुद्वाराबाट निस्कने क्रममा क्यानडियन नागरिक (पूर्व भारतीय) हरदिप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो । त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपित तीनै जना भारतीय नागरिक हुन् ।