मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना


मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि गत जुलाईमा पनि अस्पताल भर्ना गरिएको थियो ।

महाथिरका सहयोगी सुफी युसोफले उनलाई मङ्गलबार (१५ अक्टोबर) साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको जानकारी दिएका हुन् । अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’को समस्या देखिएको जानकारी गराएको र उनको उपचार केही दिन चल्ने अनुमान गरिएको बताइएको छ ।

महाथिर गत जुलाइदेखि ९९ वर्ष लागेका छन् । हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका महाथिरले जुलाईमा पनि अस्पताल भर्ना भइ उपचार गराएका थिए ।

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री)को जिम्मेवारी सम्हालेका महाथिर त्यसपछि पुनः सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।