प्रधानमन्त्री ओली र विवादास्पद व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी

प्रधानमन्त्री ओली र विवादास्पद व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी


प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न भन्दै युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र विवादास्पद व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

उजुरीमा विवादास्पद व्यापारी गुरुङमाथि विभिन्न मुद्धा मामिलाहरु राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेल हाल्नुपर्ने, जरिवाना रकमसमेत असुल गर्नुपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिवाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाइएको छ ।

उजुरीकर्ता सफलले भनेका छन्- ‘व्यवसायी मीनबहादुर गुरुङले आफ्नो मुद्धा, अवरोधबाट बच्न प्रधानमन्त्रीसँग अनुनयविनय गरेको र त्यसरी मुद्धा मामिलाबाट जोगाइदिएदेखि जस्तोसुकै सहयोग गर्ने जेण्टल एग्रिमेण्ट समेत गरेको कारण मात्र सो मुद्धा मामिलाबाट बचाउने प्रतिबद्धतासहित सो बापत प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले घुस वा कमिसन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा विवादास्पद व्यापारी मीनबहादुर गुरुङलाई दिएबाट प्रधानमन्त्रीले स्पष्ट घुस लिएको देखिन्छ । यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने देखिन्छ । अतः निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित)को परिच्छेद (२)को भ्रष्टाचारको कसूर र सजायसम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठवर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारवाही गर्न माग गर्दछु । आवश्यक प्रमाणहरु यसै निवेदनका साथ संलग्न गरिएको छ ।’