अनुसन्धानका लागि लामिछानेलाई ६ दिनको म्याद थप

अनुसन्धानका लागि लामिछानेलाई ६ दिनको म्याद थप


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।

गत शुक्रबार काठमाडौंमा पक्राउ परेका सभापति लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकामा आज ( ४ कात्तिक) अदालतसमक्ष प्रस्तुत गरिएको थियो । इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले र सभापति लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा. नारायण घिमिरेलगायतले बहस गगरेका थिए ।

सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर उनका समर्थकले नाराबाजी गरेका थिए । सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञासमेत जारी गरेको थियो । समर्थकबाट निषेधाज्ञा तोड्ने प्रयास भइरहँदा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो ।

सहकारीपीडितका साथै सभापति लामिछानेका समर्थक दुबै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो । जिल्ला अदालत परिसर आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

photo: rss