भारतले थप्यो बंगलादेशी लेखिका तस्लिमा नसरीनको निर्वासनको अवधि

भारतले थप्यो बंगलादेशी लेखिका तस्लिमा नसरीनको निर्वासनको अवधि


भारतले बंगलादेशी लेखिका तस्लिमा नसरीनको भारत निर्वासन अवधि थप गरेको छ । निर्वासनको समय कहिलेसम्मका लागि थपिएको भन्ने स्पष्ट नभएपनि निर्वासनको समय थप भएपछि तस्लिमाले भारतका गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छन् ।

नसरीनले यसअघि सामाजिक सञ्जालमार्फत गृहमन्त्री अमित शाहसँग सहयोग मागेकी थिइन् । उनले लेखेकी थिइन्- ‘मेरो भारतीय बसोबास अनुमतिको म्याद जुलाईमा सकिएको छ र, गृह मन्त्रालयले नवीकरण गरिरहेको छैन । भारत मेरो दोस्रो घर हो र जुलाई २२ पछि अनुमति नवीकरण नहुँदा म दुखी छु । यदि सरकारले मलाई भारतमा बस्न अनुमति दियो भने म आभारी हुनेछु ।’

तस्लिमा नसरीन सन् २०११ देखि भारतमा बस्दै आएकी छन् र, उनीसँग स्वीडेनको नागरिकता पनि छ । तस्लिमाको लेखका कारण सन् १९९४ मा बंगलादेशमा उनीविरुद्ध ‘फतवा’ जारी भएको थियो । उनको उपन्यास ‘लज्जा’ (१९९३) र उनको आत्मकथा ‘अमर मायेबेला’ (१९९८) का कारण उनलाई ‘फतवा’ जारी गरिएको थियो ।

भारतमा बाबरी मस्जिद भत्काइएपछि बंगलादेशमा हिन्दूहरूमाथि भएको हिंसाको कथालाई लिएर ‘लज्जा’ विवादमा परेको थियो । उपन्यासमा बलात्कार, लुटपाट र हत्याका घटनाहरू उल्लेख गरिएको छ । यसले इस्लामिक कट्टरपन्थीहरूलाई आक्रोशित तुल्यायो र, ठूलो विरोधपछि नसरीनले बंगलादेश छोड्नुपरेको थियो ।

त्यसयता उनले धेरै चुनौतीको सामना गर्नुपरेको छ । भारतमा शरण लिएपनि उनले बारम्बार आफ्नो स्थान बदल्नु परेको थियो । उनी पहिले कोलकाता र जयपुरमा बसिन्, त्यसपछि स्थायी निर्वासन अनुमतिअन्तर्गत दिल्लीमा बसोबास गर्न थालिन् ।