हिजबुल्लाहद्वारा नसरल्लाहको उत्तराधिकारीमा उपप्रमुख नाइम कासेम नियुक्त

हिजबुल्लाहद्वारा नसरल्लाहको उत्तराधिकारीमा उपप्रमुख नाइम कासेम नियुक्त


लेबनानको हिजबुल्लाह आन्दोलनले गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा उपप्रमुख नाइम कासेमलाई छनोट गरेको घोषणा गरेको छ ।

नसरल्लाहको हत्या भएको एक महिनाभन्दा बढी समयपछि इरान समर्थित समूहले विज्ञप्तिमा भनेको छ, ‘हिजबुल्लाहको (शासक) शूरा परिषद्ले शेख नाइम कासेमलाई हिजबुल्लाहको महासचिवका रूपमा निर्वाचित गर्न सहमति जनाएको छ ।’

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख हाशेम सफिएद्दिन सुरुमा नसरल्लाहको उत्तराधिकारी हुने अनुमान गरिएको थियो । तर उनी पनि नसरल्लाहको हत्यापछि छोटो समयमै बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणमा मारिएका थिए ।

एकहत्तर वर्षीय कासेम सन् १९८२ मा हिजबुल्लाहका संस्थापकहरूमध्ये एक थिए र नसरल्लाहले नेतृत्व सम्हाल्नुभन्दा एक वर्षअघि सन् १९९१ देखि उनी पार्टीको उप-महासचिव रहेका छन् ।

उनको जन्म सन् १९५३ मा बेरुतमा इजरायलको सीमासँग जोडिएको क्फार फिला गाउँको एक परिवारमा भएको थियो । नसरल्लाह सन् २००६ को इजरायलसँगको युद्धपछि मुख्यतया लुकेर बस्न थालेपछि सार्वजनिक देखापर्दैआएका सबैभन्दा वरिष्ठ हिजबुल्लाह अधिकारी थिए ।

सेप्टेम्बर २७ मा ठूलो इजरायली हवाई आक्रमणमा नसरल्लाहको मृत्यु भएयता कासेमले तीन पटक टेलिभिजन सम्बोधन गरेका छन् । यसमा उनले नसरल्लाहले प्रयोग गर्ने लेबनानी बोलीचालीको भाषाको सट्टा बढी औपचारिक अरबी भाषामा बोलेका छन् ।