धार्मिक आचार र पुँजीवाद : मैक्स वेबरको विचार

धार्मिक आचार र पुँजीवाद : मैक्स वेबरको विचार


मैक्स वेबरले विश्वका प्रमुख धर्म (हिन्दू, बौद्ध, ईसाई, कन्फ्यूशियस, इस्लाम तथा यहूदी धर्म) को विशद अध्ययन गरेर धर्मको आर्थिक-सामाजिक घटनासँग के सम्बन्ध छ भन्ने उजागर गरेका छन् । उनले यी धर्मको धार्मिक आचार एवं त्यससँग सम्बन्धित सामाजिक एवं आर्थिक संगठनको बीचमा पाइने विद्यमान सम्बन्धलाई तुलनात्मक अध्ययन गरेर ‘दि प्रोटेस्टैण्ट एथिक एण्ड दि स्प्रिंट अफ कैपीटलिज्म’ नामक पुस्तकमा प्रकाशित गरेका थिए । जसमा आधुनिक पुँजीवाद प्रथमतः पश्चिमा देशमै किन आयो भन्ने कुरा विभिन्न धर्ममा रहिआएको धार्मिक आचारलाई तुलनात्मक अध्ययन पश्चात बताएका थिए ।

वेबरले गहिरो पद्धतिशास्त्रीय अन्तरदृष्टिद्वारा प्रोटेस्टेन्ट धर्मको त्यो आचारलाई खोजे जसले आधुनिक पुँजीवादको आत्मालाई विकसित गऱ्यो । उनले धर्मलाई एक परिवर्तनीय तत्व माने र यो दर्शाए कि धर्मले कसरी मानवको सामाजिक तथा आर्थिक जीवनलाई प्रभावित गर्दछ । धर्मको समाजशास्त्रबारे यो निष्कर्ष निकाल्छन् कि धार्मिक एवं आर्थिक घटना परस्पर एकआपससँग सम्बन्धित तथा परनिर्भर छन् तर एकआपसमा निर्णायक मान्नुचाहिँ हुँदैन । वास्तवमा यी दुवै एकआपसलाई प्रभावित गरिरहन्छन् । हामीले कुनै पनि घटनाको विश्लेषणमा एकतर्फी दृष्टिकोण बनाउनुचाहिँ हुँदैन अनि केवल आर्थिक तथा धार्मिक आधारमा मात्रै टेकेर घटनाको विवेचना गर्नु पनि हुँदैन । अन्य कारक पक्षहरूको पनि प्रभावलाई ध्यान दिन जरुरी छ ।

वेबर अझ थप्छन् केवल प्रोटेस्टेन्टहरूमा मात्र यस्तो आर्थिक आचार पाए, जसले आधुनिक पुँजीवादलाई जन्म दियो । यद्यपि अन्य कारकहरू पनि उत्तरदायी रहेको पाए । उनी भन्छन् युरोपमा जब रोमन क्याथोलिक धर्म प्रचलित थियो, त्यो बेला पुँजीवादको वातावरण भएन । तर धार्मिक सुधार आन्दोलनको कारण जब प्रोटेस्टेन्ट धर्मको उदय भयो तब मात्र आधुनिक पुँजीवाद उदय भयो ।

वेबरले धर्मको समाजशास्त्रीय विवेचना गर्दा तीन प्रमुख समस्या (पहिलो- एक औसत अनुयायीको धर्मनिरपेक्ष नीति तथा आर्थिक व्यवहारमा धार्मिक विचारको प्रभाव, दोस्रो- समूहको रचनामा धार्मिक विचारको प्रभाव र तेस्रो- विभिन्न सभ्यतामा रहेको धार्मिक सभ्यताको कारण तथा प्रभावको तुलनापश्चात् पश्चिमी सभ्यताको तत्त्वको निक्र्याेल गर्नु) हरुलाई लिएर अध्ययन आरम्भ गरेका थिए । यी समस्याहरूको मध्यनजर गर्दै उनले पश्चिमी पुँजीवादको विकासको अध्ययन गरे र त्यहाँ रहेका पुँजीपति वर्गमा धार्मिक रुझानको प्रारूप कस्तो छ? भन्ने खोजबिन गरे । उनले यो समेत भने- सबै समाजको ठूला व्यापारीको मस्तिष्कमा एक नैतिक कल्पना हुन्छ कि देवता व्यक्तिको राम्रो कामको अपेक्षा गर्छन् र उसलाई उचित पुरस्कार पनि दिन्छन्, अनि नराम्रो काममा दण्ड पनि दिन्छन् । उनका अनुसार मनुष्य धार्मिक विश्वासअनुरूप यसकारण कार्य गर्दछ, ताकि उसको उन्नति होस्, दीर्घायु होस् ।

वेबरका काका कार्ल डेविड गाउँमा एउटा घरेलु उद्योग चलाउँथे, संस्थापक थिए । काकाको रहनसहन (कठोर परिश्रम, देखासिखी कम, दयालुता तथा तार्किकता जस्ता गुण) ले लेसयुक्त थिए, जो आधुनिक पुँजीवादको प्रारम्भिक खण्डमा ठूला उद्यमकर्तामा झल्कन्थ्यो । यसरी उनले आफ्नो पारिवारिक जीवनमै व्यक्तिवाद तथा आर्थिक आचरणसँग सम्बन्धित नैतिकताको एक अनौठो समिश्रण देख्न/बुझ्न पाए, जहाँ अनेकौं विचारहरू समावेश थिए । वेबर अझ थप्छन् आधुनिक औद्योगिक जगतमा मनुष्यले कठोर कार्य गर्नु उसको कर्तव्य हो र त्यसैमा यसको फल प्राप्ति निहित छ । मनुष्य आफ्नो व्यवसायमा असल ढंगले काम गरोस् । मनुष्यको शील स्वभाव नै व्यक्तिको सन्तुष्टिको आधार हो । अमेरिकामा एउटा भनाई प्रसिद्ध छ- यदि कोही काम गर्न योग्य छ भने उसले त्यसलाई अति उत्तम ढंगले सम्पादन गर्नु पर्दछ ।

उनले पुँजीवादको सार बुझ्न आर्थिक क्रियाकलापको एक प्रकारलाई ‘परम्परावाद’ नाम दिए । यो आर्थिक क्रियाकलापको त्यो अवस्था हो जहाँ व्यक्ति कम काम गरेर अधिक प्रतिफल चाहन्छ, कामको दौरान आराम अधिक मन पराउँछ, नयाँ प्रविधिसँग अनुकूलन हुँदै काम गर्ने इच्छा गर्दैन, कम आयले सन्तुष्ट हुन्छ, अकस्मात प्राप्त गर्ने लाभको यत्न गर्छ र सिद्धान्तहीन ढङ्गले धन सञ्चय गर्छ । यी सबै विशेषता पुँजीवादको सारको विपरीत बताए ।

वेबर मान्दथे कि पुँजीवादको सारका गुण केवल पश्चिमी समाजमा मात्र नभई अन्य समाजमा पनि थिए । जहाँ व्यक्ति आफ्नो व्यापार सुचारुरुपले सञ्चालन गर्न कठोर परिश्रम गर्दथे र आफ्नो बचत व्यापारलाई बढाउनमा लगाउँदथे र साथै उनीहरूको जीवन आडम्बरहित थियो । तर पनि जुन पुँजीवादको विशेषताको उल्लेख माथि गरिएको छ, त्यो पश्चिमी समाजमै बढी पाइने बताए ।

वेबर भन्थे प्रोटेस्टैण्टवाद त्यो विचारधारा हो जो पोपको बर्चस्वको अधिकार स्वीकार गर्दैन र विवेकको तत्त्व विशेषरूपमा पाइन्छ । साथै नैतिकतावादी दृष्टिकोण, संग्रहको प्रवृत्ति, इमान्दारी र श्रमप्रतिको निष्ठा यस धर्मका प्रमुख तत्त्व बताउँछन् । फलस्वरूप युरोपको विभिन्न देशमा पुँजीवादको विकास हुन पुग्यो । प्रोटेस्टैण्ट धर्मको नीतिमा सेण्ट पॉलको आदेश (जो व्यक्ति काम गर्दैन उसले खाना खाँदैन, निर्धन जस्तै धनवान पनि ईश्वरको गौरव बढाउन कुनै न कुनै व्यवसायमा अवश्य लाग्नेछ जस्ता) विशेषरूपले ग्रहण गरिन्छ । सोहीपरी रिचार्ड बैकस्टर भन्थे ‘कर्मकै आधारमा ईश्वरले मनुष्यको रक्षा गर्दछन्, परिश्रम नै व्यक्तिको नैतिक तथा प्राकृतिक उद्देश्य हो, केवल परिश्रमद्वारा नै ईश्वरको सबैभन्दा धेरै सेवा तथा सम्मान हुन सक्छ । ‘ सेण्ट जॉन बनियन पनि भन्थे ‘तिमी केमा विश्वास गर्छौ? भन्दा पनि के तिमी परिश्रम पनि गथ्र्याै? कि केवल बोलक्कड मात्रै हौ?’ यसरी प्रोटेस्टैण्ट धर्मको नीति अन्तर्गत व्यक्तिको जीवनको नियम (सक्रिय जीवन, परिश्रम, समयको सदुपयोग, व्यर्थको कुराकानी नगर्नु, धेरै नसुत्नु, ईश्वरको ध्यान भन्दा कार्य गर्नु जस्ता) बुँदागत गरे । उनले यस धर्ममा पाइने आर्थिक आचारको उल्लेख गरेका छन् जसले आधुनिक पुँजीवादलाई जन्म दियो । एक सफल व्यवसायी तथा पुँजीपति बन्न आवश्यक पर्ने शिक्षा एवं उपदेश (समय नै धन हो, धनले धन कमाउँछ, एक पैसा बचाउनु एक पैसा कमाउनु हो, इमानदारी नै सबै भन्दा असल नीति हो, चाँडो सुत्ने तथा चाँडो उठ्नु/उठ्ने व्यक्ति स्वस्थ्य, धनी र बुद्धिमान बन्छन्, कार्य नै पूजा हो आदि) बारे आधुनिक पुँजीवादका अर्का विचारक बेन्जामिन फ्रैंकलिनले उल्लेख गरेका छन् ।

वेबर प्रोटेस्टैण्ट धर्मको आचार संसारको अन्य धर्मसँग तुलनात्मक रूपमा हेर्दा आर्थिक परिणामको मामलामा धेरै स्पष्ट र दूरगामी रहेको बताउँछन् । प्रोटेस्टेन्ट धर्म कर्मलाई पूजा मान्छ र परिश्रमले नै ईश्वर प्राप्ति हुने कुरा गर्दछ । यो धर्म परिश्रमलाई नै सर्वोपरि मान्ने हुनाले पुँजीवादको विकास हुने तर्क उनी गर्दछन् । प्रोटेस्टेन धर्मको यो मान्यता छ कि व्यक्तिले जीवनमा पाउने व्यावसायिक सफलता/असफलताले नै मृत्यु पश्चात् आत्मा स्वर्गमा जान्छ या नर्कमा भन्ने कुरा तय हुन्छ । यानिकी यस्तो नैतिक शिक्षा दिइन्छ कि कठोर परिश्रम गरेर व्यवसायिक सफलता प्राप्त गरे ईश्वर प्रसन्न हुन्छन्, स्वर्गमा बास हुन्छ, मुक्ति मिल्छ । केवल गिर्जा घर जाँदैमा मिल्दैन । यस्तो धर्मको आचारले पुँजीवादको विकासमा योगदान दियो किनकि परिश्रम, उत्साह र व्यावसायिक सफलता पुँजीवादको लागि आवश्यक हुन्छ । यस धर्ममा धनले धन कमाउनुलाई राम्रो मानिन्छ । अर्थात् व्यक्तिले पैसा ब्याजमा दिएर/लगाएर कमाउन सक्छ । सो कार्य स्वीकृतिले पुँजीवादलाई बढवा दिन्छ । यसको विपरीत क्याथोलिक र इस्लाम धर्ममा ब्याज लिनुलाई राम्रो मानिदैन । प्रोटेस्टेन्ट धर्ममा मदिरा पिउनु/पिएर काममा जानुलाई अनुचित मानिन्छ । सो गरेर मसिनमा काम गर्न जानु ज्यानको खतरा हुन्छ भनिन्छ । प्रोटेस्टेन धर्ममा अकारण धेरै समय बिदामा बस्नु वा छुट्टी लिनुलाई त्यति उचित मानिदैन । पुँजीवादको सफलताको लागि धेरै काम गर्नु एवं कम छुट्टी लिनु आवश्यक छ । वेबरले प्रोटेस्टेन धर्मका उपरोक्त आचारलाई पुँजीवादको एक मात्र कारक नभई/नमानी अन्य बहुकारकलाई नै महत्व दिन्छन् । यो कुरा पुष्टि गर्न उनले युरोपका विभिन्न देशको ऐतिहासिक प्रमाण जुटाए । जुन देशहरु (बेलायत, अमेरिका र हल्यान्ड) मा प्रोटेस्टेन्ट धर्मका अनुयायी अधिक छन् त्यहाँ पुँजीवादको विकास अधिक र इटली र स्पेन जहाँ क्याथोलिक धर्मका अनुयायी धेरै छन् त्यहाँ कम भेटे ।

वेबरको मृत्यु पश्चात् उनको प्रकाशित पुस्तक ‘भारतको धर्म’ मा हिन्दू धर्ममा रहेको त्यो कुराको उल्लेख गरेका छन्, जसका कारण नवीन अर्थव्यवस्था अर्थात् पुँजीवादको विकास हुन सकेन । उनको यो मत थियो कि हिन्दू धर्म वास्तवमा एक ब्राह्मण धर्म हो । जसको स्थापना र विकास ब्राह्मण राजपुरोहित, धर्मशास्त्रका ज्ञाता र विद्वानले गरेका हुन्, जो कुटनीति तथा चमत्कारी कर्मकाण्डको ज्ञानमा पोख्त थिए । उनका अनुसार हिन्दू धर्ममा दुईटा सिद्धान्त प्रमुख छन्- एउटा पुनर्जन्म र अर्को कर्म । यस सिद्धान्तको तात्पर्य मनुष्यको कर्मको प्रभाव उसको अघिल्लो जन्मको भाग्यमा भर पर्दछ । साथै, प्रत्येक हिन्दूको सामाजिक पद जाति व्यवस्थाले बाँधिएको हुन्छ । यही विचारको सहारा लिँदै ब्राह्मणहरूले यो बताए कि एक व्यक्तिको मुक्ति उसको जातिद्वारा निर्धारित कर्मलाई पूरा गरेमा मात्रै सम्भव छ । केवल ब्राह्मण मात्र मोक्षका अधिकारी हुन् किनकि मोक्ष पाउन जति पुण्य चाहिन्छ त्यसलाई अन्य व्यक्तिले आर्जन गर्न सक्दैन भन्ने धार्मिक नीति रहेको कुरा वेबर गर्छन् ।

उनी भन्छन्- भारतमा जति धार्मिक पुरोहितको उच्च सम्मान संसारमा अरू कहीँ पाइँदैन । उच्च सम्मानलाई पुष्टि गर्न भ्रान्त तर्क र प्रमाण विकसित गरिएन । हिन्दू धर्मको नीतिका उद्देश्य इन्द्रिय तथा आवेगलाई सांसारिक चिज वस्तुबाट टाढा राख्नु/हटाउनु, जीवनको दौडधुपबाट व्यक्तिलाई मुक्ति दिलाउनु र ईश्वरसँग एकाकार गर्नु रहेको कुरा गर्छन् । वेबर अझ थप्छन्- ब्राह्मण सिद्धान्त अनुसार संसारको दुःख, पाप तथा अपूर्णताबाट टाढा भाग्ने होइन कि सांसारिक क्षण भङ्गुरताबारे बताउँछन् । सांसारिक वस्तुबाट आशक्ति र जन्म-मरणको चक्रबाट छुटकारा पाउनु नै वास्तविक मुक्ति हो । हिन्दू धर्म लौकिक समस्यामा उदासीन रहने तथा तपस्या र कर्मकाण्डमा जोड दिन्छ भन्छन् । यो धर्म जातिभेदलाई बढावा दिन्छ किनकि आ-आफ्नो जातिअनुसार कर्म गर्नुपर्ने बताउँछ । यस्ता विशेषताको कारणले गर्दा हिन्दू एउटा यस्तो जीवनशैलीमा फस्छ जसलाई नाघेर तार्किक संसारमा प्रवेश गर्न सक्दैन । हिन्दू धर्मको यस्तै नीतिप्रतिको आबद्धता र जाति व्यवस्थाको कारणले नै आर्थिक तथा भौतिक विकास बाधक रहेको वेबरको मान्यता छ ।

वेबर भन्छन्- हिन्दू धर्म भौतिकवादको स्थानमा आध्यात्मवादलाई अत्यधिक महत्व दिन्छ । यसले कर्मवादको सिद्धान्तलाई आधार मानेर अघिल्लो जुनीको कर्मसँग तुलना गरी यस जन्ममा फल प्राप्त हुने कुरा बताउँछ । प्रत्येक जातिको लागि एक व्यवसाय निश्चित भएकाले जातिगत व्यवसाय त्याग्ने अनुमति यसमा हुँदैन । फलस्वरूप हिन्दू धर्मले यस्तो सामाजिक व्यवस्थालाई जन्म दिन्छ जहाँ सामाजिक गतिशीलता सम्भव हुँदैन भन्छन् ।

त्यसैगरी कन्फ्यूशियस धर्म अथवा ताओवादमा ईश्वरको नैतिक आवश्यकता तथा मानवीय निर्बलता, पापको चेतना तथा मुक्तिको आवश्यकता, लौकिक जीवनको आचरण तथा पारलौकिक जीवनमा पाइने फल, धार्मिक कर्तव्य तथा सामाजिक राजनीतिक वास्तविकता आदिको बीचमा कुनै पनि प्रकारको तनाव पाइँदैन । यो धर्म कुनै विशेष आदर्श अनुरूप परिवर्तित हुनु पर्छ भन्दा आफ्नो अनुयायीलाई संसारको वर्तमान रूपमा अनुकूलन हुन नै बल दिन्छ । यसले परम्परा तथा परिपाटीसँग बाँधिएर बस्न जोड दिन्छ न कि मुक्त हुनलाई । यो धर्मले चीनको परम्परागत राजनीतिक व्यवस्था जहाँ सम्राट देवता तुल्य मानिन्थे र त्यसलाई कायम राख्न जोड दिन्थ्यो । यस धर्मले आर्थिक तथा राजनीतिक शिक्षामा जनकल्याणको कुरालाई बढाएर चढाएर गरिएको छ । यसमा कुनै त्यस्तो उचित आर्थिक मनोवृत्ति पाइँदैन जसले पूँजीवादलाई बढावा दिएको होस् । यसको विपरीत प्रोटेस्टेन्ट धर्ममा श्रम तथा कर्मका नीतिहरू जसले पुँजीको सञ्चय तथा तार्किक विचारको बढावा दिनाले पुँजीवादको विकासमा महत्वपूर्ण भूमिका रहेको कुराहरू बताए ।

पश्चिमी समाजमा पारिवारिक सम्बन्धलाई अधिक महत्त्व नदिइ भनौँ पारिवारिक कर्तव्यको तुलनामा नैतिक सिद्धान्तको पालनामा अधिक बल दिइन्थ्यो । आर्थिक दृष्टिबाट यसको मतलब यो हुन्छ कि कुनै व्यक्तिको व्यापारिक साख उसको नैतिक विशेषतामा परनिर्भर हुन्छ भन्छन् ।

वेबरको मृत्युपश्चात् प्रकाशित पुस्तक ‘प्राचीन यहुदी धर्म’मा उनले उल्लेख गरेका छन् कि पश्चिमी समाजको धर्ममा तार्किकता विकासको लागि उत्तरदायी रहेको छ । इसाई धर्मको मठवाद सबै सांसरिक वस्तुलाई त्याग्ने पक्षमा थिए । परन्तु प्रोटेस्टेन्ट धर्ममा एक यस्तो नैतिकताको विकास गरियो जो संसारको स्वरूपमा परिवर्तन ल्याउन चाहन्थ्यो । प्रोटेस्टेन्ट धर्म पनि वैराग्यमा विश्वास गर्छ तर यहुदी धर्ममा जस्तो यस संसारलाई यस अर्थमा त्याग्छ कि मौज उडाउनु/आराम गर्नु यस्तो प्रलोभन हो जो मुक्ति मार्गको बाधक हो ।

यहुदी पैगम्बर संसारलाई शाश्वत नमानेर यसलाई उत्पन्न गरेको मान्दछन् । यसको अर्थ यो हो कि संसार एक ऐतिहासिक घटना हो । जसलाई ईश्वरद्वारा एक निर्दिष्ट व्यवस्थाको स्थापनाका लागि बनाइएको हो । यसैको आधारमा यहुदीहरूलाई यो विश्वास छ कि भविष्यमा ईश्वरद्वारा निर्दिष्ट सामाजिक वा राजनीतिक क्रान्ति हुनेछ र त्यसै अनुरुप व्यक्तिको मनोवृत्तिको निर्धारण हुनेछ । फलस्वरूप यहुदीको आचरणमा एक उच्च तर्कनायुक्त धार्मिक नीति विकसित भयो ।

वेबर भन्दथे- यो नीति आज पनि धेरै हदसम्म मध्यपूर्वीय तथा युरोपिय आचारको एक महत्त्वपूर्ण आधार हो । उदाहरणको लागि यहोवा (यहुदीका इष्ट देवता) ले नम्रता तथा आज्ञा पालनलाई नै मनुष्यको परम गुण बताए । राम्रो/नराम्रो, भाग्यको आशा तथा पुण्य गर्नुपर्ने आवश्यकता निकट भविष्यसँग सम्बन्धित छ । यस प्रकार यहुदी धर्म परम्परागत तन्त्र तथा रहस्यमय कल्पनामा स्वतन्त्र छ । साथै यस्तो एउटा धर्मलाई महत्व दिन्छ, जो मनुष्यको दैनिक जीवनलाई ईश्वरद्वारा बताइएको नैतिक नियमले जोड्दछ भन्छन् ।

अन्त्यमा, वेबरले धार्मिक तथा आर्थिक कारकहरूको सम्बन्ध बुझ्नको लागि विश्वको प्रमुख छ धर्म (हिन्दू, बौद्ध, ईसाई, कन्फ्यूशियस, इस्लाम तथा यहूदी धर्म) को अध्ययन गरे । उनले मानवको आर्थिक आचरणसँग धार्मिक प्रभावलाई प्रष्ट गर्न खातिर १९०४ र १९०५ मा जे लेखे त्यसैलाई आधार मानेर उनको सबैभन्दा प्रसिद्ध तथा विवादास्पद पुस्तक ‘दि प्रोटेस्टैण्ट इथिक एण्ड दि स्प्रिट ऑफ कैपीटलिज्म’ प्रकाशित भयो । सो पुस्तकमा उनले कसरी प्रोटेस्टैण्ट धर्मका नीतिले पुँजीवादको विकासलाई प्रभावित गरेको छ भन्ने उजागर गरे । त्यसमा उनी लेख्छन्- ‘मनुष्यको कर्तव्य ईश्वरद्वारा प्रदत्त आफ्नो आजीविकाको लागि कमाउनु हो । ‘ केही धार्मिक सिद्धान्तको प्रभावले धेरैको आर्थिक जीवनमा क्षमता बढेको र न्यूनको मात्र घट्न पुगेको थियो । परन्तु अध्ययनको पद्धतिको आधारमा यी मध्ये कुनै एक कारकलाई एउटा परिवर्तनीय तत्त्व मान्न सकिन्छ । वेबरले धार्मिक कारकलाई एक परिवर्तनीय तत्व मानेर त्यसका आर्थिक तथा अन्य सामाजिक घटनाको प्रभावलाई जानकारीमा लिने प्रयत्न गरेका थिए । उनले यो पनि बताए कि विभिन्न धर्मका प्रचारक, विद्वान, पण्डित आदि एक विशेष प्रकारको जीवनशैलीले लेसयुक्त थिए । उनीहरूले आफ्नो धार्मिक नीतिको प्रचार गर्दै सामाजिक स्तरीकरण तथा आर्थिक क्रियाकलापलाई विशेष रूप दिने प्रयत्न गरे । पारसन्स भन्छन्- वेबरको महत्वपूर्ण योगदान धर्मको समाजशास्त्रको व्याख्यामा एक व्यवस्थित पद्धति शास्त्रीय अन्तर्दृष्टि हो । जसद्वारा उनले विभिन्न कारकलाई एक अर्कासँग पृथक गर्दै त्यसको कारण र प्रभावको एक आपसको तुलनात्मक अध्ययनले प्रष्ट पार्ने प्रयत्न गरे ।

मार्क्स मानवको सामाजिक, राजनीतिक, धार्मिक, साहित्यिक, कलात्मक र दार्शनिक जीवनलाई निर्धारित गर्ने एकमात्र कारक आर्थिक पक्षलाई मान्दछन्, जहाँ वेबर असहमत छन् । परन्तु सामाजिक जीवन तथा संरचनामा आर्थिक कारक महत्त्वपूर्ण हुन्छ भन्नेमा चाहिँ दुवै सहमत देखिन्छन् ।

(यस लेखको आशय धर्मनिरपेक्षता/धार्मिक स्वतन्त्रता वा धर्म परिवर्तन, धार्मिक उच्चता तथा विवशता जस्तालाई उछाल्ने र बहसमा ल्याउने नभइ, नितान्त जर्मनका महान् दार्शनिक मैक्स वेबरको सर्वाधिक लोकप्रिय वैचारिक देन ‘धर्मको समाजशास्त्र तथा अर्थशास्त्र’को गुदी/गुत्थी बुझ्नु र केलाउनु रहेको छ । – लेखक)