सरकारी कर्मचारीलाई मात्र तिहार ?!

सरकारी कर्मचारीलाई मात्र तिहार ?!


नेपाल विश्वकै सबैभन्दा बढी सार्वजनिक तथा चाडपर्व बिदा हुने देशमा पर्दछ । हाम्रोमा सार्वजनिक बिदा हुनासाथ सरकारी कार्यालय, विद्यालयलगायत सार्वजनिक संघसंस्था बन्द हुन्छन् । सरकारले बिदा अवधिको तलब पनि कर्मचारीलाई दिने गरेको छ । जबकि, विकसित मुलुकमा यस्तो हुँदैन । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, कोरियालगायत विभिन्न देशमा नेपालमा जस्तो मासिक रुपमा तलब दिइँदैन । त्यता घण्टाको हिसाबले तलब दिइन्छ । जति घण्टा काम गऱ्यो त्यति नै तोकिएको तलब पाइन्छ । त्यस्तै, बिदाको दिनको तलब दिइँदैन । कामदारले आफ्नो श्रम गरेबापतको मात्र पारिश्रमिक पाउँछ । हाम्रोमा जस्तो घरमा एक महिना छुट्टी लिएर खातामा तलब आउँदैन ।

अहिले सरकारले कर्मचारीहरूले जतिसुकै बिदा रहेपनि वा तोकिएको सेवा प्रवाह नगरेपनि उनीहरुलाई मासिक रुपमा तलब उपलब्ध गराउँछ । यद्यपि, बाहिरी जिल्लामा आफ्नो जिम्मेवारी निर्वाह नगरी तलब नै कटौती गरेर दिइन्छ ।

नेपालमा सरकारी कर्मचारीको तलब पदअनुसार २५ हजार रुपैयाँदेखि लाखौंसम्म छ । उनीहरुलाई सरकारले महँगी भत्ता, बैठक भत्ता, खाजा खर्च, रासन भत्तालगायत विभिन्न रकम पनि उपलब्ध गराउने गरेको छ । योसँगै उनीहरुलाई कार्यालय आउजाउका निम्ति गाडी नै किनिदिएको छ । कर्मचारीलाई पोशाक पनि सरकारले नै उपलब्ध गराउँछ । दशैँको समयमा सरकारले कर्मचारीलाई बोनस प्रदान गर्दछ । तर, यतिले पनि नपुगेर कर्मचारीहरुले घुस खान्छन् । मानौं कि उनीहरुलाई सरकारले केही पनि दिएकै छैन । अहिले हरेक सरकारी निकायमा जाँदा कर्मचारीहरु काममा कम फोन वा गफमा व्यस्त देखिन्छन् । सेवाग्राहीलाई घण्टौंसम्म लाइनमा कुराउन उनीहरू पटक्कै अप्ठेरो मान्दैनन् । दुई मिनेटमा हुने काम दुई घण्टा लगाइदिनु हाम्रा कर्मचारी महानुभावहरूको लागि साधारण कुरा हो ।

घुस पाए कर्मचारीहरु मख्ख हुन्छन् अनि घुस नपाउँदा झनक्क रिसाउँछन् । सरकारी कार्यालयमा कर्मचारी कम दलाल/बिचौलिया बढी भेटिन्छन् । फेरि यिनलाई खटाउने पनि यिनै कर्मचारी नै हुन् । बाहिर दलालीलाई सेवाग्राहीसँग घुस लिन लगाउँछन्, अनि पर्दाभित्र बसेर मिलिजुली खान्छन् ।

घुस पाएमा कर्मचारीहरु मिनेटभरमै काम गरिसक्छन्, तर नपाए सानो कामलाई पनि महिनौं लगाइदिन्छन् । कर्मचारी जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । फेरि तिनै जनताको काम गर्न उनीहरु हिच्किाउँछन् । बाहिर पाँच दिन फिल्डमा गएमा एक महिनाको भत्ता बुझ्छन् । पछिल्लो समय त फिल्डमा नगइ भत्ता बुझ्ने प्रवृत्ति पनि बढ्दो छ ।

यता, कार्यालयको सामान खरिदमा पनि अनियमितता गर्छन् । पाँच हजारको सामान किन्दा पचास हजारकोे नक्कली बिल बनाएर भुक्तानी लिन्छन् । नयाँ सामान किनेको केही दिनमै बिग्रिएको बहाना बनाएर घरतिर लैजान्छन् । कार्यालयमा दश जना बैठक बसेमा २०-२५ पोका खाजा ल्याउँछन् । बढी खाजा आफ्नो घर लैजान्छन् हाम्रा कर्मचारी ।

केही वर्षयता सरकारी गाडीको दुरुपयोग बढ्दो छ । कर्मचारीले आफ्नो स्वार्थका लागि जनताको करबाट खरिद गरिएका गाडीको दुरुपयोग गर्नु अहिले कुनै नौलो विषय भने होइन । कर्मचारीहरु आफ्ना साथीभाइ, आफन्तलाई ड्राइभिङ सिकाउन समेत सरकारी गाडीको प्रयोग गर्ने गर्छन् । बालबच्चा वा श्रीमतीलाई विद्यालय, अफिस पुऱ्याउन, बजार वा घुम्न जान पनि सरकारी गाडीकै प्रयोग गर्ने गरिएको छ । गाडी बिगार्छन् र मर्मत गर्दा कमिशन खान्छन् । एक लाख खर्चिएर मर्मत गरेमा पाँच लाखको बिल पेश गरेर भ्रष्टाचार गर्छन् । कर्मचारीहरु हरेकजसो काममा भ्रष्टाचार गर्छन् ।

सरकारले कर्मचारीलाई महिना मर्नुअघि नै खातामा तलब हालिदिने गरेको छ । जबकि होटल, रेस्टुरेन्ट, पसल, फर्म, संघसंस्था, घरायसी काम गर्नेहरुले महिनौं कुरेर तलब पाउँछन् । उनीहरु बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खट्छन्, जम्मा पाँच हजारदेखि पन्ध्र-बीस हजार तलबमा । त्यही पनि साहुले काम भएन भनेर महिनौं दलाएर बिना तलब निकाल्छ ।

कतिपय भने वर्षौंसम्म पनि तलब नपाएर आफैं काम छोड्छन् । निजी संघसंस्थामा सार्वजनिक तथा चाडपर्व बिदाको पनि तलब काट्छ । दशैं पेश्की दिइँदैन । न त खाजा वा उपचार खर्च नै दिइन्छ । निजी संघसंस्थाहरुमा काम गर्नेहरु रगतपसिना बगाएर दिनरात खट्दा पनि उनीहरुलाई बिहानबेलुकाको छाक टार्न धौ-धौ पर्छ । तर, सरकारी कर्मचारीहरु बिहान १२ बजे कार्यालय पुग्छन् । कार्यालय पुग्नासाथ फोनमा व्यस्त हुन्छन् । अनि खाजा खानेबित्तिकै घरतिर दौडिन्छन् । तैपनि उनीहरुलाई नै सरकारले महिनाअगावै तलब दिन्छ । कानूनमा कर्मचारी बिहान १० बजेभित्र कार्यालय पुग्नुपर्छ भने बेलुका ५ बजेसम्म काम गर्नुपर्छ ।

हाम्रोमा त कर्मचारीहरुले कानूनलाई नै धोती लगाइदिएका छन् । उनीहरु कानूनअनुरुप चल्दैनन् । आफ्नो मनोमानी गर्छन् । अहिले सरकारी जागिरे भएकाहरुलाई दिदीबहिनीलाई कति दक्षिणा दिने वा दाजुभाइलाई कस्तो खानेकुरा लैजाने ? भनेर होडबाजी चलेको छ । यता, निजी संघसंस्था, होटल, रेस्टुरेन्टमा काम गर्नेहरुलाई भने कहाँबाट पैसा खर्च जुटाउने भन्ने चिन्ता छ ।

काम गरेको तलबबाट महिनौंदेखि तलब पाएको छैन । सामानको भाउ ह्वात्तै बढेको छ । पसलेले उधारो दिँदैन, जसका कारण भाइमसला कसरी किन्ने वा दक्षिणा कहाँबाट ल्याएर दिने ? भन्ने चिन्ता उनीहरुलाई छ । बजारमा सामानको मूल्य उही छ, सरकारी कर्मचारी र आम सर्वसाधारणका निम्ति । तलब पाएको छैन वा थोरै तलब छ भन्दैमा व्यापारीहरु सामानको मूल्य घटाउँदैनन् ।

अहिले कर्मचारी, राजनीतिक दलका नेता, घरधनी वा छोराछोरी विकसित मुलुक भएकालाई महँगीले छोएको छैन । उनीहरुले लाखौं खर्चिएर दशैं र तिहार मनाइरहेका छन् । भाइमसला मात्र लाखौंको किनिरहेका छन् । तर, पैसा नहुनेलाई त पाँच हजार खर्च गर्नु पनि धेरै ठूलो हो । किनकि त्यो पाँच हजार पनि उनीहरुले ऋण लिएका हुन्छन् ।

त्यसैले, अब आम्दानीको स्रोत नहुनेहरु चाडबाड मनाउन नसक्ने अवस्थामा पुगेका छन् । बजारमा महँगीले सीमा नाघिसकेको छ । बेरोजगारी बढ्दो छ । धनी झन्-झन् धनी त गरिब झन्-झन् गरिब हुँदै गएका छन् । यसले अब पैसा नहुने वा रोजगारी नभएकाहरु चाडपर्व मनाउन नसक्ने भएका छन् । देशमा सरकार छ तर धनीका लागि मात्र । यदि गरिबको सरकार भएको भए यहाँ कोही पनि चाडपर्व मनाउनबाट वञ्चित हुँदैनथे !