ललितपुरस्थित डायनामिक बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारणसभा शनिबार (२४ कात्तिक) सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठद्वारा उद्घाटन गरिएको साधारणसभामा उपस्थित सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सहकारीबारे अनेक भ्रम र हल्ला चलिरहेको वर्तमान परिस्थितिमा पनि डायनामिक सहकारी विधिसम्मत ढंगले राम्रोसँग सञ्चालन भइरहेको दाबी गरे । सहकारीको जग भनेको भनेकै शेयर सदस्यहरू रहेको उल्लेख गर्दै उनले सञ्चालक र शेयर सदस्यहरूबीचको आपसी विश्वास कायम रहेसम्म हल्ला र भ्रमले केही असर नगर्ने धारणा राखे ।
यस्तै, उपाध्यक्ष शिवशंकर श्रेष्ठले स्वागत मन्तव्य राख्दै शेयर सदस्यहरूबाट प्राप्त विश्वासको कदर गरेर डायनामिक सहकारीले भविष्यमा अझ ज्यादा सेवा-सुविधाका कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए । यस्तै, सचिव नरेन्द्र शाक्यले आ.व. २०८०/८१ को कार्यक्रमबारे जानकारी दिएका थिए ।
संस्थाका कोषाध्यक्ष दिब्य बरालले आ.व. २०८०/८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा ५१८ जना शेयर सदस्य रहेका र संस्थाको कारोबार लगभग ६ करोडको हाराहारीमा रहेको जानकारी दिए । अतिथिका रूपमा उपस्थित पुल्चोक टोलसुधार समितिका अध्यक्ष सुरेन्द्र शाक्यले शुभकामना मन्तव्य दिए भने साधारणसभामा विभिन्न विधामा पुरस्कार पनि प्रदान गरिएको थियो ।
संस्थाका सचिव नरेन्द्र शाक्यले सञ्चालन गरेको कार्यक्रममा पाँच सयको हाराहारीमा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया