देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको उद्योगमन्त्रीको भनाइ

देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको उद्योगमन्त्रीको भनाइ


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट बर्सेनि हजारौं युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दो हुँदा देशमा दक्ष जनशक्तिको अभाव सिर्जना भएको बताएका छन् ।

पीयूएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प (वृद्धि)को स्वागतमा सोमबार (२६ कात्तिक) आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासका कार्यक्रममा समन्वय, स्वदेशी उत्पादन र रोजगारी प्रवद्र्धनको आवश्यकता औंल्याउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिए ।

मन्त्री भण्डारीले भने, ‘म विशेषगरी युवालाई स्वदेशमै रहेर वा फर्केर काम गर्ने वातावरण सिर्जना गर्न खोजी गर्दै गरेको वृद्धि संस्थाको दृष्टिकोणको सराहना गर्दछु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको नेटवर्क मार्फत प्रभावमूलक उद्यमशीलता प्रवर्द्धन गर्ने यसको रणनीति महत्वपूर्ण छ ।’

सन् २००१ देखि नेपालमा आफ्नो सेवा सुरु गरेको पीयुएमले एक हजारभन्दा बढी साना तथा मझौला उद्यमी, कृषक, शैक्षिक संस्था र व्यावसायिक संस्थालाई सहयोग पुर्याएको उल्लेख गर्दै उनले फूलखेती, डेरी उद्योग, पर्यटन व्यवसाय, हस्तकला, कपडा उद्योग, तरकारीखेतीलगायत विभिन्न क्षेत्रमा गरेको योगदानको सराहना गरे ।

‘वृद्धि पनि यही दिगो विकास लक्ष्यलाई आत्मसात गर्दै अघि बढ्ने छ भन्ने मलाई विश्वास छ, विशेषगरी नेपाली युवाहरूका लागि मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने, उद्यमशीलताको माध्यमबाट आर्थिक वृद्धि हासिल गर्ने र समावेशी तथा दिगो व्यावसायिक वातावरण निर्माण गर्ने वृद्धिको लक्ष्य सराहनीय छ’, मन्त्री भण्डारीले भने । साथै उनले उद्योग मन्त्रालयले रोजगारी सिर्जना तथा अन्य आर्थिक गतिविधि बढावा दिन वृद्धिसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

पीयूएम नेदरल्याण्डस् सन १९७८ मा नेदरल्यान्डस्मा स्थापित भई नेपालमा २३ वर्षदेखि विभिन्न सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो भने नयाँ स्थापित वृद्धि पीयूएमसितको सहकार्यमा त्यसै संस्थाका कामको निरन्तरतासहित नेपालमा रोजगारी तथा आर्थिक उत्थानका क्षेत्रमा काम गर्न स्थापित गरिएको जनाइएको छ ।