‘उसागी’ आँधीका कारण फिलिपिन्समा उच्च सतर्कता अपनाउन चेतावनी जारी

‘उसागी’ आँधीका कारण फिलिपिन्समा उच्च सतर्कता अपनाउन चेतावनी जारी


फिलिपिन्सले उसागी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको चेतावनी जारी गरिएको हो ।

प्रतिघण्टा १८५ किलोमिटर सम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ ।

बिनाशकारी मौसमी लहरले यसअघि नै १५९ जनाको ज्यान लिएको छ भने राष्ट्रसङ्घलाई प्रभावित क्षेत्रहरूका लागि तीन करोड २० लाख ९० हजार अमेरिकी डलर सहयोगको प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसँग गरेको छ । त्यहाँको राष्ट्रिय मौसम विभागका अनुसार आँधीले हल्का सामग्रीको संरचनामा लगभग पूर्ण क्षति पुऱ्याउन सक्छ ।

भारी वर्षा र तीन मिटरसम्मको सम्भावित कडा छालहरूको पूर्वानुमान गरी आँधीको चेतावनी उच्च चरणमा लागु गरिएको छ ।

कागायन प्रान्तमा आँधीले अवतरण गर्ने अपेक्षा गरिएकाले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

कागायनका नागरिक सुरक्षा प्रमुख रूएली राप्सिङले स्थानीय सरकारहरूले ४० हजार मानिसहरूलाई आश्रयमा लैजाने बताएका छन् ।

उसागीपछि, उष्णकटिबन्धीय आँधी म्यान-यीले पनि यस सप्ताहन्तमा राजधानी मनिला वरपर फिलिपिन्सको जनसङ्ख्याको केन्द्रमा प्रहार गर्ने पूर्वानुमान गरिएको छ ।

हालैको एक अध्ययनले एसिया-प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका कारण आँधीबेहरीको असर तटीयरेखामा तीव्र र लामो समयसम्म रहने गरेको देखाएको छ ।