भारतको एक अस्पतालमा आगलागी हुँदा दश नवजात शिशुको मृत्यु, १६ को अवस्था गम्भीर

भारतको एक अस्पतालमा आगलागी हुँदा दश नवजात शिशुको मृत्यु, १६ को अवस्था गम्भीर


भारतीय अस्पतालमा आगलागी हुँदा दश नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको बताइएको छ ।

सम्वद्ध अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो ।

घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए । यसैगरी आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो ।

आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताएका छन् । आगलागीको कारणबारे अनुसन्धान गरि जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताएका छन् । गम्भीर घाइतेहरूलाई चिकित्सा सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी अविनाश कुमारलाई उदृत गरी हिन्दुस्तान टाइम्सले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत बालबालिकाको मृत्युलाई ’हृदयविदारक’ घटना भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिएका छन् ।