नर्वेकी युवराज्ञी मेट्टे-मेरिटका २७ वर्षीय छोरालाई बलात्कारको आरोपमा पक्राउ गरिएको नर्वेली प्रहरीले जनाएको छ ।
मेट्टे-मेरिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट जन्मेका मारियस बोर्ग होइबीलाई सोमबार (१८ नोभेम्वर) साँझ पक्राउ गरिएको जनाइएको छ ।
‘प्रहरीले बलात्कार बारेमा भन्नसक्ने कुरा के हो भने यो संभोगबिनाको यौनकार्यसँग सम्बन्धित छ, पीडितले उक्त कार्यको प्रतिरोध गर्न असमर्थ भएको बताइएको छ’, त्यहाँको प्रहरीको आधिकारिक भनाइ छ ।
पछिल्लो बयानमा, प्रहरीले संदिग्धको घरको खोजी गरेको र ‘जफत’ गरेको बताएको छ ।
बोर्ग होइबीलाई शाही दम्पतीले आफ्ना सौतेनी भाइबहिनी राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा (२०), राजकुमार सेभेरे म्याग्नस (१८)सँग हुर्काएको थियो, तर उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन ।
अगस्ट ४ मा ओस्लो अपार्टमेन्टमा उनीसँग सम्बन्ध राखेको एक महिलाको रातको विवादपछि शारीरिक क्षतिको आरोप लागेको केही महिनापछि बलात्कार आरोपमा गिरफ्तारी भएको प्रहरीको भनाइ छ । प्रहरीले त्यतिबेला महिलाको शयनकक्षको एउटा भित्तामा चक्कु गाडिएको पाएको नर्वेका सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् । निषेधाज्ञा आदेश उल्लङ्घन गरेको आरोपमा सेप्टेम्बरमा पनि उनलाई पक्राउ गरिएको थियो ।
सोमबार पक्राउ गरिएको बेला उनी अगस्टको घटनाको कथित पीडितसँग कारमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले मङ्गलबार अगस्टको घटनासँग सम्बन्धित शङ्कामा अब घरेलु दुर्व्यवहार समावेश भएको बताएको छ ।
उनलाई हिरासतमा राख्ने कि नराख्ने भन्नेबारे अझै निर्णय गर्न बाँकी रहेको बताइएको छ ।
होइबीको जन्म सन् १९९७ मा मेट्टे–मेरिटको सन् २००१ मा नर्वेको सिंहासनका उत्तराधिकारी युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट भएको थियो ।
प्रतिक्रिया