राष्ट्र बैंकको गभर्नर बनाउन ‘महाभारत स्तरीय’ प्रतिष्पर्धा !

राष्ट्र बैंकको गभर्नर बनाउन ‘महाभारत स्तरीय’ प्रतिष्पर्धा !


  • घटना र विचार सम्वाददाता, काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त हुँदै गर्दा सत्ता गठबन्धनभित्र भावी गभर्नर चयनको विषयले गम्भीर तनाव पैदा गर्ने सम्भावना देखापरेको छ । आगामी चैत्र २३ गते नयाँ गभर्नर नियुक्त भैसक्नुपर्ने र त्यसको एक महिनाअगावै नयाँ गभर्नर चयनको प्रक्रिया सुरु हुनुपर्ने कानूनी ब्यवस्था छ र, सत्तारुढ दलनिकटका ब्यक्तिहरू गभर्नर बन्ने प्रतिष्पर्धामा भित्रभित्रै सक्रिय हुन थालिसकेका छन् ।

नेकपा एमालेसम्बद्ध नेताहरू यतिबेला प्रधानमन्त्री र अर्थमन्त्री रहेकाले एमालेले चाहेका ब्यक्ति नै गभर्नर बन्ने अनुमान गर्न सकिए पनि यसपालि काङ्ग्रेससमेत गभर्नर पद प्राप्त गर्न गम्भीरतापूर्वक लाग्ने सम्भावना देखिएकोले नियुक्तिको निर्णय सहजै हुनसक्ने स्थिति छैन ।

अर्थ मन्त्रालयको नेतृत्व एमालेले लिएको र राष्ट्रबैंकको नेतृत्व समेत एमालेकै हुँदा आर्थिक क्षेत्रको नीतिगत एवम् नियामक स्थानमा काङ्ग्रेसले आफू शून्य उपस्थितिमा रहेको ठानेको छ । त्यसैले कम्तिमा राष्ट्र बैंकको नेतृत्व आफूले पाउनुपर्ने सोच काङ्ग्रेस नेतृत्वले बनाएको छ । ऐनअनुसार गठित कमिटीले तीन जना सम्भावित उम्मेदवारहरूको नाम सिफारिश गरेपछि ती तीनमध्येकै एकजनालाई सरकारले गभर्नर नियुक्त गर्ने कानूनी ब्यवस्था भएकोले सिफारिशमा पर्न र पार्न अहिलेदेखि नै सक्रियता सुरु भैसकेको छ।

नेपाली काङ्ग्रेसको उच्च तहले नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुङ्गानालाई राष्ट्र बैंकको गभर्नर बनाउने निधो गरेको छ । काङ्ग्रेस नेता एवम् नबिल बैंकका मालिकसमेत रहनुभएका सांसद विनोद चौधरीको प्रस्तावमा सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाले सहमति जनाइसकेको हुनाले काङ्ग्रेसले भाग पाउँदा ढुङ्गाना गभर्नर बन्ने निश्चित मानिएको हो ।

मन्त्री शरतसिंह भण्डारीलगायतले राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक राजनसिंह भण्डारीको नाम अगाडिबढाउन खोजेको बुझिन्छ । अर्थमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शङ्कर पोखरेलबीच प्रकाशकुमार श्रेष्ठको नाममा सहमति बनेको अवस्था छ । तर एमालेमा आर्थिक क्षेत्रका सम्राट भनिने डा. युवराज खतिवडा भने हाल डिपुटी गभर्नर रहेकी नीलम तिम्सिनालाई नै गभर्नर बनाउन कस्सिनुभएको छ ।

राष्ट्र बैंकको जागिरमा रहँदादेखि नै युवराज खतिवडा नीलमलाई माथि उठाउन सक्रिय एवम् समर्पित रहँदै आउनुभएको हो । यसपटक गभर्नर बनाइदिन पनि उहाँको सक्रियता सुरु भैसकेको बुझिन्छ । खतिवडाले प्रधानमन्त्री ओलीलाई नीलमको विकल्प खोज्न आवश्यक नपर्ने भनी सुझाउनुभएको सम्बद्ध सूत्रहरूले जनाएका छन् ।

त्यसो त भावी गभर्नरका रूपमा सुशील भट्टको नाम पनि चर्चामा आएको छ । सुशीललाई गभर्नर बनाउन केपी ओली र शेरबहादुर देउवा दुवैमाथि एकप्रकारको दबाब परिरहेको बताइन्छ।

यसरी गभर्नर बन्न र बनाउन एमालेभित्र नै एउटा ‘महाभारत स्तरीय’ सङ्घर्ष हुने देखिएको छ भने अर्कोतिर काङ्ग्रेस पनि यो विषयमा पछि नहट्नेगरी अगाडि बढ्न खोज्दैछ । त्यसैले गभर्नर चयनको मुद्दाले सत्ता गठबन्धनलाई नै सङ्कट्ग्रस्त अवस्थामा पुर्‍यायो भने कुनै आश्चर्य हुनेछैन ।