पाँचखालमा ६ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज स्थापना गरिएको छ ।
सरकारले विसं २०६८ भदौ २७ को मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । विसं २०७५ मा मात्रै औपचारिक रुपमा जग्गा प्राप्त गरी निर्माणको काम थालिएको थियो । निर्यातजन्य उद्योगको स्थापना गरी व्यापारघाटा कम गर्ने र औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले सेज निर्माण गर्ने निर्णय भएको थियो तर सेजको नाममा जग्गा प्राप्ति भएको छ वर्ष बितिसक्दा पनि हालसम्म निर्माण गर्नुपर्ने पूर्वाधारलगायत काम भएका छैनन् । तीन वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त योजनाअन्तर्गत निर्माणधीन मुख्य प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
योजना अघि नबढेकामा कोरोना सङ्क्रमण तथा समयमा बजेट निकासा नहुनुलाई पनि कारण बनाइएको छ । यस्तै वार्षिक जम्मा रु पाँचदेखि १० करोड मात्र बजेट विनियोजन हुने भएकाले पनि समयमा कार्यसम्पन्न गर्न ढिलाइ भएको बताइन्छ । योजनाअन्तर्गत आवश्यक पूर्वाधार निर्माणका लागि रुख कटानको प्रक्रियालगायतका कारण निर्माणमा केही ढिलाइ भएको विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमित्त प्रमुख तुलसीराम मरासिनीले बताउनुभयो । उहाँका अनुसार आयोजनास्थलमा पर्ने रुख कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सेजभित्रका १४ हजार ११ रुख कटान गर्नुपर्ने भएकाले डिभिजन वन कार्यालयमार्फत वन विभागलाई सिफारिस गरिएको र विभागले रुख कटानको स्वीकृत दिने काम पनि अन्तिम चरणमा पुगेको मरासिनीले जानकारी दिनुभयो ।
सरकारले सेज स्थापनार्थ वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाउँ विकास समितिको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको थियो । एक हजार रोपनी वन उपलब्ध गराएबापत सरकारले वन मन्त्रालयलाई रु २० करोड रकम उपलब्ध गराएको थियो । सेज निर्माणअन्तर्गत हालसम्म पहुँचमार्ग, मुख्य प्रशासनिक भवन तथा सेज रहने स्थानमा तारबारको काम भएको छ । एक हजार रोपनी जमिनमध्ये २० रोपनीको रुख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको हो ।
सेजको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) र वातावरणीय व्यवस्थापन योजना (इएनटी) स्वीकृतसमेत भइसकेको मरासिनीले बताउनुभयो । अब प्रशासनिक भवनलगायत काममा हालसम्म रु १५ करोड ५३ लाख ४९ हजार सात सय खर्च भएको छ । डिपिआर अनुसार सेजको लागि करिब १४ अर्ब खर्च हुने अनुमान गरिएको छ । पाँचखाल सेज निर्माण योजनामा प्रशासनिक भवन, सेवा भवन, सीमा-पर्खाल, बाल उद्यान, फोहर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, सवारीसाधन पार्किङ, खानेपानी ट्याङ्की निर्माण, खानेपानी प्रशोधन केन्द्र, विद्युत्को सव–स्टेशनलगायतका संरचना निर्माण उल्लेख छ । सेजमा ५२ निर्यातजन्य उद्योग स्थापना गर्न सकिने छ ।
भैरहवापछि प्राथमिकतामा राखिएको पाँचखाल सेजको सञ्चालनले चीनबाट हुने व्यापारलाई सहजीकरण हुने जनाइएको छ । चिनियाँ लगानीकर्ताको आकर्षण बढे पनि सोचेअनुसार काम नहुँदा भने उद्योगी व्यवसायी एवं स्थानीय चिन्तित भएको पाइन्छ । बहुप्रतीक्षित पाँचखाल सेज पाँचखालको मात्र नभएर काभ्रेपलाञ्चोकका साथै मुलुककै गौरवको विषय भएकाले यसको निर्माण कार्य छिटो सम्पन्न हुनुपर्नेमा माग छ । त्यसबेला सरकारले मुलुकभर १४ स्थानमा यस्ता सेज स्थापनाको अवधारणा ल्याइएको थियो ।
पाँचखालका नगरप्रमुख महेश खरेलले सेज उद्योग स्थापना एवं रोजगारीका लागि निकै महत्वपूर्ण भएकाले समयमै निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले काम छिटो सम्पन्न गराउन सेज केन्द्रीय कार्यालयमै पटक-पटक ध्यानाकर्षण गराइएको बताउनुभयो । पाँचखाल सेजमा विशेष गरी चिया, कफी, अदुवा, अलैँंची, आयुर्वेदिक औषधि, दूग्ध पदार्थलगायत कृषि, खनिज, आईटी र चीनबाट कच्चापदार्थ ल्याएर प्रशोधन गर्ने उद्योग बढी सम्भाव्यता देखिएको जनाइएको छ ।
तस्बिर : रासस
प्रतिक्रिया