विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन


विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार (११ मंसिर) उनको परिवारलाई उद्धृत गर्दै बताएको छ ।

टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भयो ।

अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बन्न पुगेका थिए ।

‘उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो’, परिवारले एक विज्ञप्तिमा भनेको छ, ‘वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।’

टाइटानिक जहाज डुबेकै वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए । ‘तपाईं या त लामो बाँच्नुहुन्छ वा छोटो बाँच्नुहुन्छ र, तपाईं यसका बारेमा केही गर्न सक्नुहुन्न’, उनले भनेका थिए ।

उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिँदै भनेका थिए, ‘यदि तपाईं धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईंले धेरै केही गर्नुभयो भने, तपाईंले अन्ततः कष्ट भोग्नुहुनेछ’, उनको भनाइ थियो ।

दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरे ।

लिभरपुल फुटबल क्लबका आजीवन समर्थक रहेका उनी हरेक शुक्रबार माछा र चिप्स खान्थे ।

ज्ञात रहोस्, विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका छिन् ।