दुग्ध विकास संस्थान सुधार गर्ने कृषिमन्त्रीको उद्घोष

दुग्ध विकास संस्थान सुधार गर्ने कृषिमन्त्रीको उद्घोष


कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् । मंगलबार (११ मङ्सिर) मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तवरबाट आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाँडै देखिने जिकिर गरे ।

विगतदेखि नै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने, यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारीको भनाइ थियो । यो समयमा डिडिसीले दूध खरिदमा विगतदेखि नै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भए पनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको उनले बताए ।

‘सरकारले अण्डा र मासुमा आत्मनिर्भर भएजस्तै दूधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दूध खरिद नगर्ने भन्ने कुरा हुन सक्दैन’, उनले भने । केही सञ्चारमाध्यममा किसानको दूध सरकारी संस्थानले नकिनेको विषय आएको तर दूध बिक्री नभएको गुनासो किसानमार्फत नआएको भए पनि यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउनेमा पनि उनको प्रतिबद्धता रह्यो ।

ज्ञापनपत्र बुझाउँदै सञ्जालले दूध, उखु, सुपारीलगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।