चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा


अमेरिकाका निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले चीनद्वारा गलत तरिकाले हिरासतमा राखिएको भनी वर्गीकृत गरिएका तीन अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङलाई रिहा गरिउको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

‘चाँडै नै उनीहरू फर्कनेछन् र धेरै वर्षपछि पहिलो पटक आफ्ना परिवारसँग पुनर्मिलन गर्नेछन्’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भनेका छन् ।

‘यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पीआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्’, विदेश मन्त्रालयका प्रवक्ताको भनाइ छ ।

यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकका लागि बेइजिङसँग अदलाबदली गरेर तीनै जनालाई रिहा गर्न लागिएको हो ।

सन् २०१२ को अन्त्यतिर स्विदनलाई लागूऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो । उनको परिवार र समर्थकहरूले उनसँग लागूपदार्थ भएको कुनै प्रमाण नभएको र उनका ड्राइभर र अनुवादक सहयोगीले उनलाई दोष दिएको बताएका छन् ।

चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह डुइ हुवाका अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडनले निद्रा र खानाबाट बञ्चित भएको र १०० पाउन्ड (४५ किलोग्राम) भन्दा बढी तौल गुमाएका छन् ।

सन् २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो । अमेरिकी अधिकारीहरूले उक्त रिहाई एक चिनियाँ नागरिकको लागि अदलाबदली को एक भाग भएको पछि स्वीकार गरेका थिए ।

बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाई सुनिश्चित गर्ने आशा गरेको थियो, बाइडेनले यसै महिना पेरूमा एपेक शिखर सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेटमा ती मुद्दाहरू उठाएका थिए ।