व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड

व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड


चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा ६.१ प्रतिशतले कमी आई रु ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा ४.२ प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ ।

गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ । यस्तै, विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड रहन गएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.पाँच प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो ।

चालु आवको पहिलो त्रयमासमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति रु एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो ।

औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ । गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो ।

तरकारी तथा दलहन उप-समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक विन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.५० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशत रहेको थियो ।

गत असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७८ प्रतिशत रहेको थियो । त्यसैगरी, तलब तथा ज्याला सूचकाङ्क ३.३६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो ।

चालु आवको मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ । गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।

कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा १४ दशमलव महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.छ प्रतिशतबाट पाँच प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आवको पहिलो त्रयमासमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तसम्ममा विस्तृत मुद्राप्रदायक १३ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ ।