पुस पहिलो सातादेखि पुनः उत्पादन शुरु गर्दै हेटौंडा सिमेन्ट उद्योग

पुस पहिलो सातादेखि पुनः उत्पादन शुरु गर्दै हेटौंडा सिमेन्ट उद्योग


हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगका विभिन्न उपकरणह मर्मतको काम नसकिँदा उत्पादन अझै सुरु हुन नसकेको हो ।

‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै जारी छ’, उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भनेका छन्-‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर अझै उपकरण मर्मतको काम सकिएन ।’ उपकरणहरुको मर्मत कार्य सम्पन्न हुनेबितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ ।

उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात रहेको र थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेको पनि अध्यक्ष भण्डारीले जानकारी दिए ।

आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको बताइएको छ ।

२०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।