- द्रोण अधिकारी, झापा
सिमान्तकृत तथा विपन्न बस्तीले भरिएको पश्चिम दक्षिणी गाउँपालिका झापाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ । कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि पालिकाले विविध अनुदान दिएर व्यवयायिक कृषिमा जोड दिएको हो ।
पहिलो स्थानीय तह निर्वाचन २०७४ मा जयनारायण शाहले पालिकाका बासिन्दाको जीवनस्तर उकास्न कृषिलाइ्र्र देखाएर अगाडि सारेको समृद्धिको सपना निरन्तर कार्योजनाका साथ अगाडि बढाउँदा पालिकाले व्यवसायिक कृषिमा निकै ठूलो फड्को मारिसकेको छ । पछिल्लो समय शाहको व्यवसायिक कृषि मार्फत स्थानीयको जीवनस्तर उकास्ने सपना पूरा गर्ने दायित्व कार्य वाहक अध्यक्ष अञ्जुदेवी थपलियाले पाएकी छन् ।
गाउँपालिकाले व्यवसायिक कृषिमा आकर्षण बढाउन तथा दिगो कृषि पेशा बनाउन सिञ्चाइलगायत कृषिकार्यमा प्रयोग हुने विद्युत खपतको ८० प्रतिशत लागत रकम व्यहोर्ने नीति लिएको छ । कृषिमा लागत घटाइ किसानहरुलाई व्यवसायिक खेतीप्रति आकर्षण बढाउन गाउँपालिकाले बजेट चालु आर्थिक वर्षको बजेटमार्फत किसानको ८० प्रतिशत विद्युत महशुल तिरिदिने नीति लिएको हो ।
किसानहरुलाई खेतीपाती गर्न सजिलो पारेर आय आर्जन बढाउने उद्देश्यले गाउँपालिकाले उनीहरूको खेतबारीमै बिजुली पुऱ्याइरहेको कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिइन् । का.वा अध्यक्ष थपलियाका अनुसार किसानको कृषि कर्मप्रति खुसीपूर्ण अवस्था निर्माणका लागि गाउँपालिकाले विद्युत महसुलमा लाग्ने ८० प्रतिशत रकम समेत चालू आर्थिक बर्ष २०८१/०८२ को विनियोजन वजेट मार्फत तिरिदिने भएको छ ।
झापा गाउँपालिकामा २०७४/०७५ को वजेट मार्फत नै तत्कालीन अध्यक्ष जयनारायण शाहले किसान हितको लागि शुरू गरेको बिजुली बिस्तार कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको छ । झापाका ७ वडामा हालसम्म ५ हजार वटा बिजुलीका पोल किसानका खेतबारीमा तारसहित जोडिएको छ भने ८ सय पोल यस आर्थिक वर्षमा जोडिन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।
पालिकाले किसान हितमा विद्युतमा लाग्ने महसुल मात्रै होइन, सिंचाइ मोटर, स्प्रे ट्याङ्की समेत साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराउँदै आएको छ भने ५० युनिटसम्म सबै नागरिकको विद्युत महशुल समेत पालिकाले नै तिर्दै आएको प्रमुख प्रशासकीय अधिकृत थपलियाको भनाइ छ ।
मकै, धान, केरा र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६० प्रतिशत सिंचाइको लागि विद्युत महशुल तिरिदिँदै आएकोमा यस आर्थिक वर्षदेखि ८० प्रतिशत तिरिदिन लागेको हो । विद्युतमा सहुलियत सहित दिइरहेको झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट जोन क्षेत्र घोषणा गरिएपछि किसानको खुसीको लागि उनीहरूलाई चाहिने आवश्यक मल, बिउ, औजार र प्राविधिक सहयोगलाई प्राथमिकता दिन थालिएको छ ।
कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिंचाईको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउँदै पालिकाभित्र आवद्ध ९२ ओटा कृषि समूहलाई आवश्यक तालिम र अनुदानको ब्यवस्था समेत गर्दै आएको छ ।
अध्यक्ष जयनारायण शाहले पदभार सम्हालेपछि आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक विपन्न उत्थानका लागि कृषिमा केन्द्रीत कार्यक्रम ल्याउन थालेका थिए । त्यसयता झापा गाउँपालिकाले त्यहाँका बासिन्दाको हितमा महत्वपूर्ण काम गरिरहेको छ भने विगतकै कार्योजनालाई सफल रूपमा अहिलेसम्म निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया