सिरियामा लेबनानी हिजबुल्लाह समूहले दुई हजार लडाकू पठाएको दाबी

सिरियामा लेबनानी हिजबुल्लाह समूहले दुई हजार लडाकू पठाएको दाबी


लेबनानको हिजबुल्लाह समूहले सिरियामा दुई हजार लडाकू पठाएको उक्त समूहनिकट एक स्रोतले बताएको छ ।

सन् २०११ देखि सिरियाली युद्धमा राष्ट्रपति बसर अल असदको सेनासँग मिलेर लडेको इरानसमर्थित समूहले लेबनानी सीमा नजिकैको कुसेर क्षेत्रमा दुई हजार लडाकू पठाएको समूह सम्बद्ध स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार गत हप्ता इस्लामवादी नेतृत्वको विद्रोहीआक्रमण सुरु भएयता हिजबुल्लाहले युद्धमा सक्रिय सहभागिता जनाएको छैन ।

सिरिया–लेबनान सीमामा पर्ने पहाडमा समूहका लडाकुलाई ‘आफ्नो स्थानको रक्षा गर्न’ पठाइएको र हिजबुल्लाहले अहिलेसम्म कुनै पनि लडाइँमा भाग नलिएको स्रोतले जनाएको छ ।

सिरियामा विद्रोही गठबन्धनले सिरियाका दुई मुख्य शहर (उत्तरको अलेप्पो र मध्यभागको हामा)मा कब्जा जमाइसकेको छ ।

हिजबुल्लाह र इजरायलबीचको युद्धमा युद्धविराम लागू भएको दिन नोभेम्बर २७ मा उनीहरूले आफ्नो आक्रमण सुरु गरेका थिए, युद्धविरामले लेबनानी समूहलाई कमजोर बनाएको छ ।

रिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर)का अनुसार शनिबार विद्रोही सेना सिरियाली मध्यशहर होम्सको प्रवेशद्वारमा थिए र राजधानी दमास्कसतर्फ अघि बढिरहेका थिए ।

स्रोतका अनुसार हिजबुल्लाहले सिरियाली सेनालाई शहरको रक्षा गर्ने निर्णय गरेमा सहयोग गर्न होम्सलाई १५० सैन्य सल्लाहकार पठाएका थिए ।

हिजबुल्लाहले सन् २०१३ देखि नै असदको सेनालाई खुलेर समर्थन गर्दै आएको छ ।

हिजबुल्लाहका लडाकुहरूले सन् २०११ मा सरकार विरोधी प्रदर्शनको दमनपछि सुरु भएको गृहयुद्धमा गुमेको क्षेत्र फिर्ता लिन असदलाई सहयोग गरेका थिए ।

लेबनानी समूहले सन् २०१३ मा सिरियाली सरकारी फौजलाई विद्रोहीको कब्जाबाट कुशायर शहरबाट फिर्ता लिएको थियो भने हिजबुल्लाहले पछि त्यहाँ सैन्य आधार र प्रशिक्षण शिविर स्थापना गरेको थियो ।

तर गत हप्तासम्म सिरियामा जारी युद्ध सुषुप्त अवस्थामा रहेकाले हिजबुल्लाहले ‘विगत दुई वर्षमा आफ्ना अधिकांश लडाकूलाई फिर्ता बोलाएको छ’, स्रोतले भनेको छ ।

स्रोतले भन्यो, ‘हिजबुल्लाहले अलेप्पो र हामामा सैन्य सल्लाहकारहरू राखेको थियो, हालैका दिनहरूमा विद्रोही सेनाले यी दुई शहरहरू कब्जा गर्नुअघि उनीहरू त्यहाँबाट भागेका थिए वा थिएनन् भन्ने कुरा निर्दिष्ट गरिएको छैन ।’

रुस र इरानले पनि असदको शासनलाई समर्थन गर्न युद्धमा हवाई हस्तक्षेप गरेका छन् ।

तेहरानले नोभेम्बर २८ मा अलेप्पोमा भएको झडपमा रिभोलुसनरी गार्डका एक जनरलको मृत्यु भएको घोषणा गरेको थियो ।

  • एएफपी/रासस