सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा

सिरियामा असद शासन अन्त्य भएको विद्रोहीको घोषणा


कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै उनीहरु सडकमा विजय उत्सव मनाएको अवस्थामा देखिन्थे।

दमास्कसबाट एएफपी टिभीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फाएर गरेका, केहीले विजयको चिन्ह चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् हुनुहुन्छ भनी चिच्याइरहेको देख्न सकिन्छ । तस्बिरमा कोही उत्सव मनाउन सेनाका बख्तरबन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्बिर लिइरहेको देखिएको छ ।

एएफपीका अनुसार दमास्कसका बासिन्दा आमेर बाथाले भनेका छन्, ‘म विश्वास गर्न सक्दिनँ कि म यो क्षणको प्रत्यक्षदर्शी बनिरहेको छु । हामी यो दिनको लागि लामो समयदेखि पर्खिरहेका थियौँ, हामील सिरियाका लागि नयाँ इतिहास लेख्न सुरु गर्दैछौँ ।’

इस्लामिक हयात तहरीर अल-शाम (एचटीएस) समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको कथित बहिर्गमन भएको बताइएको छ ।

‘बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार र (जबर्जस्ती) विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दछौँ’, विद्रोही समूहले टेलिग्राममा भनेका छन् ।

सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभएको छ ।

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)का प्रमुख रामी अब्देल रहमानले दाबी गरेअनुसार राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसकेका छन् ।

हिजबुल्लाहनजिकको स्रोतले राष्ट्रपति असदको प्रमुख सहयोगीका लडाकुहरूले दमास्कस वरिपरि आफ्नो स्थान छोडेको बताएको एएफपीले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियामा भइरहेको ‘असाधारण घटना’लाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसले जनाएको छ ।