श्रीलङ्कन नौसेनाद्वारा पक्राउ गरिएका २१ जना भारतीय मछुवार रिहा

श्रीलङ्कन नौसेनाद्वारा पक्राउ गरिएका २१ जना भारतीय मछुवार रिहा


श्रीलङ्कन नौसेनाद्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरू रिहा भएका र उनीलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ ।

कोलम्बोमा रहेको भारतीय उच्चायोगले सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेको छ, ‘श्रीलङ्काबाट २१ भारतीय मछुवाहरूको समूह सफलतापूर्वक स्वदेश फिर्ता गरिएको छ, तिनीहरू हाल घर फर्कने क्रममा छन् ।’

यसअघि डिसेम्बर ८ मा श्रीलङ्काको नौसेनाले रामनाथपुरमको तटबाट आठ भारतीय मछुवा र दुईवटा डुङ्गा कब्जामा लिएको थियो । पक्राउ पर्नेमा रामानाथपुरमका मङ्गाडु भत्रप्पन (५५), रेड्डीयुरानी, कन्नन (५२), चिन्ना रेड्डीयुरानी मुथुराज (५५), अगस्तियार कुतम काली (५०) र थङ्गाचिमाड यासिन (४६) येशू, उचिपुल्ली रामकृष्णन रहेका छन् ।

श्रीलङ्काली नौसेनाले भारतीय मछुवाको गिरफ्तारी तमिलनाडु सरकार र भाजपा नेतृत्वको केन्द्र सरकार दुवैका लागि चिन्ताको विषय बनेको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यस विषयमा विदेशमन्त्री जयशङ्करलाई पटकपटक पत्र लेखेका छन् ।

सीएम स्टालिनले माछा मार्नेहरूलाई हिरासतमा लिनु र उनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर सङ्कट र अनिश्चितता सिर्जना गरेको बताएका छन् । ‘हाम्रा माछा मार्नेहरूलाई थुनामा राख्ने र तिनीहरूको डुङ्गा जफतले तटीय समुदायहरूमा गम्भीर पीडा र अनिश्चितता निम्त्याएको छ । मैले बारम्बार दोहोर्‍यएको छु कि कूटनीतिक तवरले यो समस्या समाधान गर्न ठोस र सक्रिय कदम चाल्नुपर्छ’, उनको भनाइ छ ।

उनको पत्रको जवाफ दिँदै जयशङ्करले यस मुद्दामा सक्रिय कारबाही गर्ने आश्वासन दिएका छन् । कोलम्बोमा रहेको भारतीय उच्चायोग र जाफनास्थित महावाणिज्य दूतावासले हिरासतमा रहेका व्यक्तिहरूको चाँडो रिहाइका लागि ती मुद्दाहरू द्रुत र निरन्तर रूपमा उठाइरहेका छन् ।