नेपाल उद्योग परिसङ्घले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरुलाई आग्रह गरे ।
नेपालमा लगानीकर्ताहरुलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवर्द्धन गर्न देशकेन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्कव्यक्ति तोकिनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । ।
नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको सन्दर्भमा लगानी भित्र्याउन त्यो सहयोगी बन्ने विश्वास व्यक्त गर्दै उनले सन् २०२६ मा मुलुक मध्यमआययुक्त विकासशील देशमा स्तरोन्नति हुने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशले पाउँदै आएको सुविधा नघट्ने वातावरण बनाउन उहाँले प्रस्तावित राजदूतहरूसँग आग्रह गरे ।
परराष्ट्र मन्त्रालयका कामयमुकायम सचिव अमृतबहादुर राईले देशको प्रतिनिधिको रुपमा राजदूतहरुले नेपाली वस्तुहरुको प्रवर्द्धन, नेपाली व्यवसायीहरुलाई सहजीकरण गर्ने बताए । उनले नेपाली व्यवसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा सघाउन आग्रह गरे ।
उच्च व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत् पूर्वाधार विकासमा लगानी केन्द्रित गर्न आफूहरू लाग्ने प्रस्तावित राजदूतहरुले व्यक्त गरे ।
छलफलमा प्रस्तावित राजदूतहरु डा. शङ्कर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा. सुम्निमा तुलाधर, डा. जङ्गबहादुर चौहान, प्राध्यापक कपिलमान श्रेष्ठ, प्रकाशमणी पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्णबहादुर नेपाली र डा. नेत्रप्रसाद तिम्सिना सहभागी थिए ।
प्रतिक्रिया