राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ-बुटवल सडक बिस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो । नारायणगढ-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।
“पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ, अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुङ्गाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ”, उनले भनेका छन् । यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले बताए ।
त्यसैगरी, २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इञ्जिनीयर खनालको भनाइ छ । गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताउनुभयो । सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, ६ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिए । (गैँडाकोट-दाउन्ने खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको उनले बताए ।
हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३ दशमलव १५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप तीन दशमलव १८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको उनको भनाइ छ । मध्यविन्दु नगरपालिकामा पर्ने चोरमारा जङ्गलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिनमुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको बताइएको छ ।
सडकको बीचमा खाल्डो खनेर जमिनमुनिबाट निस्किएको पानीलाई निकास दिनका लागि सब सर्फेस ड्रेन बनाइएको र अब यस खण्डमा सहज रुपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने उनको भनाइ छ । नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी विसं २०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडकाबीच सम्झौता भएको थियो ।
नारायणघाट–दाउन्ने (६५ किलोमिट) र दाउन्ने-बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरेका थिए । निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।
प्रतिक्रिया