लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।
विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल-बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा भनेका छन्, ‘उहाँको पहिलो लक्ष्य विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीहरूलाई फिर्ता ल्याउनु हो ।’
विदेशमा रहेका नागरिकको मानव पूँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए ।
उनले भनेका छन्, ‘मेरो विदेशस्थित सबै सिरियालीहरूलाई एउटा अपील छ- सिरिया अब एक स्वतन्त्र देश हो जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ। फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ।’
इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि असद सिरियाबाट भागेका थिए । असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ ।
सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो ।
साम्प्रदायिक हिंसाको बारेमा चिन्ता प्रकट भएको छ, यद्यपि विद्रोही आक्रमणको नेतृत्व गर्ने इस्लामीक समूह हयात तहरीर अल-शाम (एचटीएस)ले धार्मिक अल्पसङ्ख्यकहरूलाई नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ ।
इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरू अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् ।
सिरियाको इसाई समुदायले सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै असद सरकारलाई समर्थन गर्दै आएका थिए । निवर्तमान् राष्ट्रपति असद स्वयं अल्पसङ्ख्यक अलावी सम्प्रदायका थिए र उनले आफूलाई अल्पसङ्ख्यकहरूको संरक्षकको रूपमा स्थापित गरेका थिए।
प्रतिक्रिया