वीरगञ्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको छ ।
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।
चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको उल्लेख गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले भनेका छन्, ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ, त्यसो नगरे पुँजीगत खर्च बढ्दैन ।’
चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।
प्रतिक्रिया