फेरि पनि भूगोलको नाम र क्षेत्र बदलिन सक्छ

फेरि पनि भूगोलको नाम र क्षेत्र बदलिन सक्छ


पंक्तिकारले आफ्नो विचार राख्नुअघि हरिहर विरही र उनको कृति ‘आगो निभेको छैन’को अलिकति चर्चा नगरे विरहीले सिक्किमलाई गरेको माया र उनले सिक्किममा खर्चेको उर्जालाई अन्याय हुनेछ । नेपालका चर्चित पत्रकार, एक बुद्धिजीवी हस्ताक्षर विरहीको माथि भनिएको कृतिको ‘सिक्किम सन्दर्भ’ हेर्दा लाग्छ उनी पत्रकारिताकै निम्ति सिक्किम आएका थिए । तथापि, त्यस समयको ‘विमर्श’ पत्रिका यस कलमकारले पढेको होइन तर ‘आगो निभेको छैन’को सिक्किम सन्दर्भ (पृष्ठ १४१ (१५१सम्म) हेर्दा उनको इमान्दार पत्रकारिता र सिक्किमप्रतिको मानवीय साहनुभूति स्पष्ट हुन्छ । उनले एक ठाउँ लेखेका छन्, ‘राजाले जनतालाई समयमै अधिकारसम्पन्न बनाइ राष्ट्रिय एकता कायम नगर्नाले राजतन्त्रमात्र समाप्त भएन, देशकै अस्तित्व लोप भयो । त्यस्तै राजनीतिक दलले परिस्थितिको मूल्यांकन र परिणाम नगरी आँखा चिम्लेर संघर्ष चर्काउँदा कस्तो नतिजा आउन सक्छ भन्ने कठोर शिक्षा दिने घटना पनि थियो ।’

विरहीले सिक्किमको राजनीतिलाई एकदम नजिकबाट हेरेका र बुझेका थिए भन्ने कुरा उक्त कृतिबाट स्पष्ट हुन्छ । त्यस समय उनले सिक्किमका ठुला र सर्वाधिक जनप्रिय नेताहरु भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारी, पुर्व मुख्यमन्त्री पवन चामलिङ, भुतपुर्व मन्त्री आरसी पौड्याल पुर्व अतिरिक्त महाधिवक्ता तथा विधायक नरबहादुर खतिवडाहरुसित विशेषरुपले भेटेको अनि अन्तर्वार्ता समेत लिएका थिए । उनको उक्त कृति केवल एक ऐतिहासिक दस्तावेजमात्र नभइ भारत सरकारको कुटनीति चिहाउने झ्याल हो भने त्यस आलेखले सिक्किमका वर्तमान नेताहरु समेतको आँखा खोल्न सक्नेछ ।

यसो त सिक्किमको बिलयअघि झापा नेपालका वरिष्ठ पत्रकार जसले अनेकपल्ट पत्रकारितामा राष्ट्रिय सम्मानसमेत प्राप्त गरेका हुन् । नकुल काजीले भारतको कुटनैतिक चाल सन्दर्भमा एउटा पुस्तिकासमेत प्रकाशित गरेको सम्झना छ तर उक्त पुस्तिका न त भारतमा ब्यान गरियो वा छापिएकै होइन किटान गर्न नसकीए पनि नकुल काजी सिक्किमको अस्तित्वको चिन्ता गर्ने अर्का एक पत्रकार थिए भन्न सकिन्छ । विरहीले झैं नै उनले पनि सिक्किमको भ्रमण गरि जनताको आकांक्षा बुझेर अन्तराष्ट्रिय पटलमा सत्यतथ्य राख्लान् भन्ने भयमा होला उनले भारतमा जेल सजायसम्म भोगेका हुन् । दुई वेहद इमान्दार, शक्तिशाली अनि विश्वका नेपाली जातिका बीचमा शीर्ष बुद्धिजीवीमध्ये नकुल काजीले सिक्किमको विलयपूर्व र हरिहर विरहीले विलयपश्चात जे-जति गरे त्यो केवल पेशा मात्र थिएन, बरु उनीहरुको सिक्किम र सिक्किमे प्रतिको भावनात्मक जुडाव समेत निर्भिक पत्रकारिताको उदाहरण थियो । यी दुवै विशिष्ट व्यक्तित्वहरु गलत राजनीतिले मानव समाज र भूगोललाई कति नकरात्मक असर गर्दछ भन्ने सत्यका गवाही हुन् ।

विरहीको ‘सिक्किम सन्दर्भमा’ सिक्कमका तत्कालिन नेपाली राजनैतिक महारथीहरुसित लिएको अन्तरवार्ता र उनकै संस्मरणअनुसार कुनै पनि नेता विलय पछि भारत सरकारको सिक्किमप्रतिको दृष्टिकोण सन्दर्भमा सन्तुष्ट थिएनन् भन्ने स्पष्ट हुन्छ । असन्तुष्टिको कारण विकास होइन । भारतमा विलय भएपछि सिक्किममा जुन द्रुत गतिमा विकास भयो त्यस्तो विकास संसारका थोरै मात्र राज्य वा देशमा भएका हुन् । त्यो विकास आफ्नै घर जलाएर तापेको आगो जस्तो थियो तर विकासको न्यानोमा सिक्किमे जनताले घर जलेको थाह पाएनन् । भारतले नितान्त जबर्जस्ती र अलोकतान्त्रिक ढंगमा सिक्किम भारतमा विलय गराएको भने होइन । सिक्किम देश भारतमा विलय गराउँदा केहि लोकतान्त्रिक अभ्यास भएका थिए जस्तो कि जनमत संग्रह । त्रिपक्षीय सम्झौता आदि । भारतको संसदमा विलयमाथि चर्चा पनि भएकै हो, संविधान संशोधन पनि भएको त हो तर सिक्किमलाई प्रतिनिधित्व दिने सांसद कति सचेत थिए, जनमत दिने जनता कति सचेत थिए अनि जनमत संग्रह के र कस्तो निष्पक्ष वातावरणमा गराइयो भन्ने कुरा कुनै अन्तर्राष्ट्रिय फोरमहरुले जान्ने वा बुझ्ने सम्म जमर्को नगर्नु भने ठिक थिएन ।

सिक्किमकै सन्दर्भलाई लिएर हेर्नु हो भने वास्तवमा UNO जस्ता संगठन साम्राज्यवादी देशको दास मात्र हुन् भन्ने लाग्छ । निरीह र निर्धा देश र जनताको पक्षमा कथित अन्तर्राष्ट्रिय संगठनले केहि बोल्लान भन्ने आशा नगर्दा हुन्छ । यस्ता संगठनहरु विभिन्न देशका राष्ट्राद्यक्ष्यहरुको भेट घाट र रमाइलो गर्ने अखडा बाहेक केहि होइनन । यस्तो किन लाग्छ भने धेर जस्तो यस्ता संगठनले गरेका सन्धि र लिएका निर्णयहरु कागज र मिडिया छोडेर जनतासम्म पुग्न सकिरहेका छैनन् । उदाहरणको निम्ति पर्यावरणको वर्तमान विनास नरोकिए एक दिन यो पृथ्वी नामको ग्रह मान्छे बस्नलायक रहँदैन भन्ने सबै राष्ट्राध्यक्ष्यलाई थाह छ तर विनासको गतिमा अलिकति पनि कमि आएको भने छैन । जम्मा कुरा गर्दा सिक्क्मको विलय होस् वा युक्रेन रसियाको युद्ध कुनै अन्तराष्ट्रिय फोरमलाई केही लेना देना छैन । यसरी कहीँ गरिदिने अभिभावकको अभावमा सिक्किम सशर्त विलय भयो तर अहिले CAA, ONORC, वा जन्म मृत्यु जन्म प्रमाणपत्र ऐन जस्ता ऐन सिक्किममा पनि लागु भएपछी सिक्किमे जनताले आफ्ना विशेष सुरक्षा गुमाए ।

देशको संविधानको धारा ३७१ f ले सिक्किमेहरुलाई दिएको सम्पूर्ण विशेष सुरक्षा गुमाएपछीछि सिक्किमका पुर्व मुख्यमन्त्री पवन चामलिङले तिनै अधिकार र सुरक्षाको सवालमा आफ्नो राजनैतिक मुद्धा लिएर अघि आएका थिए । यसरी क्षेत्रीय सुरक्षाको सवालमा राजनीति गर्दा देशको सत्ताधारी दल भारतीय जनता पार्टीको ONE NATION को नीतिविपरित उनको राजनीति हुनाले भारतीय जनता पार्टीले वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङ गोले नेतृत्वाधीन सिक्किम क्रान्तिकारी मोर्चासित गठ्बन्धन गरि चुनावमा विजय हासिल गऱ्यो । उदेकलाग्दो के छ भने भारतीय जनता पार्टीका आफनै प्रत्यासीहरु सबै हारे । कतिपयको जमानतसम्म बाँचेन । केन्द्रिय भाजपा नै आफ्ना प्रत्याशी सबैलाई परास्त गरेर मुख्य मन्त्री गोले मार्फत आफ्नो उद्देश्य पूरा गर्न चाहन्थ्यो । वास्तवमा भाजापा राज्य एकाइका अधक्ष्य डी आर थापा अत्यन्त स्पष्टवादी नेता हुन् । उनी सिक्किमको सिक्किमको स्थानीय हितको पक्षमा मजबुत भएर उभिन्छन् भन्ने कुरा उनि विधानसभामा छँदा राखेका तर्कहरुबाट स्पष्ट हुन्छ । भारतीय मूलका कार्पोरेटसित मिलेर MCX को अर्बौं रुपियाँको घोटाला समेत सिक्किम सरकारका अनेक कमजोरी र भारत सरकारको भूमिका माथि लगातार सवाल उठाउने थापाको र उनका साथीहरुको विजय केन्द्र सरकार र भाजपाका निम्ति ‘नाक में दम’ हुने अवस्था हुनाले केन्द्रको आदेशलाई अक्षरशः पालना गर्ने व्यक्ति नै मुख्यमन्त्री हुनुपर्ने आफ्नो आवश्यकताअनुरुप भारतीय जनता पार्टीले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले मार्फत सिक्किमको क्षेत्रीय सुरक्षाका निम्ति संविधानमा उल्लेखित प्रावधानहरुको तरलीकरण गरेको कुरामा कुनै संशय नहुनुपर्ने हो ।

विरहीको एउटा भनाइ ‘यसरी स्वतन्त्र अस्तित्वका लागि छट्पटाइरहेको, लामो इतिहास बोकेको, यता देश राजा र जनताबीच द्वन्द्वले हाम्रै आँखाका सामु भूगोलबाट बिलाएर गयो’लाई गम्भीरतापूर्वक मनन गर्ने हो भने अनि उनको अध्ययनअनुसार भन्ने हो भने सिक्किमे जनता र नेता (काजी एलडी दोर्जी खान्गशार्पा समेत) आफनै अस्तित्व भित्र एउटा लोकतान्त्रिक व्यवस्था चाहन्थे । चार जना दिग्गज नेपाली नेताहरुको अन्तर्वार्ताको आधार पनि ठिक्क त्यस्तै छ तर तिब्बतलाई कब्जा गरिसकेको चीन सिक्किम नपसोस भन्ने कुटनैतिक अभ्यासअन्तर्गत सिक्किमको विलय भएको थियो । सिक्किमको विलयपछि भावनात्मक एकिकरणको निम्ति प्रयास भए र सिक्किमे जनता भावनात्मक रुपले नै आफुलाई भारतीय मान्छन तर भारत अहिले पनि सिक्किमे मुलका रैथाने जनतालाई भावनात्मक रुपले स्वीकार गर्न तैयार छैन । वित्त कानुनको संशोधन हुँदा सिक्किमे मुलका रैथाने ती जातिलाई जसरी सामान्य भारतीयको हांचमा राखेको छ । केवल कृषि र ससाना जागिरको भरमा जीवन यापन गर्ने सिक्किमको हातमा सिक्किमको व्यापार व्यवसाय र ठुलो जागिर नगन्य छ जसले गर्दा यस्ता रैथानेको आर्थीक अवस्था मजबुत छैन भने अर्कोतिर भारतीय सेवाका कथित मान्वेत्तर माशयहरुको हातमा ठुला नोकरी हुनु र अधिकाश व्यापार वाणिज्य समतलीय भारतीयहरुको हातमा हुनाले क्षेत्रीय अधिकार गुमाएका सिक्किमेहरू ठगिएका छन् ।

भारत अहिले पनि भारतीय नेपालीहरुलाई खाँटी भारतीय मान्न तत्पर छैन । भारतका नेपालीले छुट्टै गोर्खाल्याण्ड मागे जसलाई सिक्किमका पूर्व सबै सरकारहरुले समर्थन गरे । भारतीय नेपालीका एक प्रबुद्ध हस्ताक्षर सीके श्रेष्ठले इलाममा आयोजित एउटा कार्यक्रमको अध्यक्षीय सम्बोधनमा भने- ‘हामी भानुभक्तका खेत हौँ ।’ जहिले विदेशी मुलका भन्छ भारतले । भारतको राजनीति मात्र होइन प्रशासन र न्याय व्यवस्थासम्म भारतीय नेपालीलाई भारतीय रैथाने मान्न अहिले पनि तैयार छैन । सीके श्रेष्ठले भने हामी त जहान थियौँ त्यहीँ नै छौँ तर भानुभक्त र भाटको खेत बिचमा बग्ने खोलाको सिमाना सरे जस्तो हाम्रो सिमाना सरिरहयो त हाम्रो दोष के छ ? न त अन्तर्राष्ट्रिय फोरम बोल्छन् न नेपालले नै कहिल्यै इतिहासमा हाम्रो सिमाना अझ परसम्म थियो भन्छ ।

अर्को अझ उल्लेख गर्नेपर्ने कुरा के हो भने PPS अथवा PERMANENT POLITICAL SOLUTION को नाम गरेर भारतीय जनता पार्टीले दार्जिलिङका नेपालीहरुलाई ठगेको छ । भारतीय जनता पार्टीका पश्चिम बंगाल सदनका विधायक बीपी बजगाईंले विधान सभामा अनेकपल्ट आवाज उठाउँदा पनि केन्द्र कान ओछ्याएर बसेको छ । विरहीले भने झैँ नेताहरुले आँखा चिम्लेर निर्णय लिए भने नतिजा अवश्य पनि दुष्कर हुनेछ । सिक्किम झैँ विकाशील राज्यको सन्दर्भमा CAA,ONORC, NRC वा ONE NATION ONE BIRTH &DEATH REGISTRATION जस्ता कानुनहरु राज्यमा लागु हुनु भनेको त्रिपक्षय सम्झौताको र संविधानको धारा ३७१ का आधारमा निकै गाह्रो कुरा हो तर सिक्किमको सत्ताधारी नेताहरु समेत जनताले पनि आँखा चिम्लेर बसेको हुनाले फेरि पनि भूगोलको नाम बदलिन सक्छ भने अर्कोतिर PPS जसवन्त सिंहदेखि राजु विष्टको समयसम्म भारतको संसदभित्र चर्चाको विषय हुन् सकिरहेको छैन । त्यसैले सिक्किमका पुर्व मुख्यमन्त्री पवन चामलिङले काठमाण्डूको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै स्व. कवि अगमसिंह गिरीको सम्झना गरेका थिए र भनेका थिए- ‘हामी सुखी छौं तर खुशी छैनौँ ।’

(लेखक सिक्किमका पत्रकार एवम् राजनीतिक विश्लेषक हुन् ।)

यो पनि हेर्नुहोस् –