महाभियोगपछि दक्षिण कोरियाका राष्ट्रपति युन पदबाट निलम्बित

महाभियोगपछि दक्षिण कोरियाका राष्ट्रपति युन पदबाट निलम्बित


दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव पारित गरेको छ । शनिबार (१४ डिसेम्बर) महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् ।

डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढी तीव्र राजनीतिक तनाव निम्त्याएको थियो ।

राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्‍याली निकालिएको थियो ।

मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताएका छन् ।

कूल ३०० संसद् सदस्य रहेको कोरियाली संसदमा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानमा तीन सांसद अनुपस्थित रहेका र आठ मत बदर भएको छ ।

महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरू गरेको छ ।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् ।

प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित भएसँगै पत्रकारसँगको कुराकानीमा भनेका छन्, ‘दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।’

महाभियोग पारित हुन दुई सय मत आवश्यक थियो र विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी (पीपीपी)का कम्तीमा आठ जना सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो ।

विपक्षी डेमोक्रेयाटिक पार्टीका नेता पार्क चान-डेले अबको १८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्मसम्मानलाई प्रकट गर्ने बताएका छन् ।