असदद्वारा सिरियाबाट ‘योजनाबद्ध’ प्रस्थान अस्वीकार !

असदद्वारा सिरियाबाट ‘योजनाबद्ध’ प्रस्थान अस्वीकार !


बशर अल-असदले दमास्कसको पतनपछि मात्र सिरियाबाट आफू भागेको बताएका छन् । विद्रोहीहरूले राजधानी कब्जा गरेर आफूलाई सत्ताच्यूत गरेपछिको आफ्नो पहिलो टिप्पणीमा उनले देशका नयाँ नेताहरूलाई ‘आतङ्कवादी’ भनेर निन्दा गरेका छन् ।

इस्लामवादी नेतृत्वको विद्रोही गठबन्धनले नोभेम्बर २७ मा उत्तरपश्चिम सिरियाको गढबाट तीव्र आक्रमण सुरु गऱ्यो, द्रुत गतिमा सरकारी नियन्त्रणबाट प्रमुख शहरहरू कब्जा गऱ्यो र डिसेम्बर ८ मा राजधानी कब्जा गऱ्यो ।

‘केहीले दाबी गरेजस्तो सिरियाबाट मेरो प्रस्थान न योजनाबद्ध थियो न त युद्धको अन्तिम घन्टामा भएको थियो’, अपदस्थ राष्ट्रपतिको टेलिग्राम च्यानलमा असदको एक विज्ञप्तिमा भनिएको छ, ‘म दमास्कसमा बसेँ, आइतबार डिसेम्बर ८ को बिहानसम्म मेरो कर्तव्य पूरा गरेँ ।’

‘आतङ्कवादी शक्तिहरूले दमास्कसमा प्रवेश गर्दा म हाम्रा रूसी सहयोगीहरूसँग समन्वय गरेर लडाइँको निरीक्षण गर्न लाटाकिया गएँ’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार उनी त्यस बिहान हेमिमिम आधारमा पुगेका थिए ।

‘यस क्षेत्रको अवस्था बिग्रँदै गएपछि रूसी सैन्य आधार आफैँ ड्रोन आक्रमणको तीव्र आक्रमणको सिकार भयो’, विज्ञप्तिमा भनिएको छ, ‘र मस्कोले डिसेम्बर ८ को साँझ रूसमा तत्काल निकासीको व्यवस्था गर्न सैन्य आधारको कमान्डलाई अनुरोध गऱ्यो ।’

पाँचजना पूर्व अधिकारीहरूले यसअघि नै समाचार एजेन्सी एएफपीलाई विद्रोही सेनाले दमास्कस कब्जा गरेर असदको सरकारलाई अपदस्थ गर्नुभन्दा केही घन्टाअघि नै सिरियाका पूर्वराष्ट्रपति देशबाट बाहिर भइसकेको बताएका थिए ।

अघिल्लो रात असदले आफ्नो निकट सल्लाहकारलाई दमास्कस विमानस्थलबाट रुसको हेमिमिम एयर बेस र त्यहाँबाट देशबाहिर उडान गर्नुअघि भाषण तयार गर्न भनेका अधिकारीहरूले बताएका छन, तथापि अपदस्थ असदले त्यो भाषण कहिल्यै दिएनन् ।

‘जब राज्य आतङ्कवादको हातमा जान्छ र अर्थपूर्ण योगदान गर्ने क्षमता गुमाउँछ, कुनै पनि स्थिति उद्देश्यहीन हुन्छ’, असदको विज्ञप्तिमा थप भनिएको छ ।

यद्यपि असदले लामो समयदेखि आफ्नो शासनको विरोध गर्ने सबैलाई ‘आतङ्कवादी’ भन्दै आएका छन् । उनको पतनको नेतृत्व गर्ने समूह हयात ताहरिर अल–शाम (एचटिएस) लाई पनि संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले आतङ्कवादी सङ्गठनका रूपमा प्रतिबन्ध लगाएका छन् ।

सिरियामा अल–कायदाको पूर्व शाखामा एचटिएसको जरा भएका कारण यसले सन् २०१६ मा जिहादी समूहसँग सम्बन्ध तोडेको थियो र यसले आफ्नो छवि नरम बनाउन खोजेको छ । हालैका दिनहरूमा अमेरिका र बेलायत दुवैले यस समूहसँग सम्पर्क स्थापित गरेका छन् ।