प्रशान्त राष्ट्र भानुआटुमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७.३ म्याग्निच्युडको भूकम्प ५७ किलोमिटरको गहिराइमा भानुआटुको मुख्य टापु एफेटको तटबाट करिब ३० किलोमिटर टाढा स्थानीय समयानुसार दिउँसो १२ः४७ बजे गएको थियो । केही मिनेटपछि फेरि ५.५ म्याग्निच्युडको पराकम्प आएको थियो । त्यसपछि ससाना कम्पनहरू आए ।
भूकम्पले तीन लाख २० हजार जनसङ्ख्या भएको कम उचाइको यो द्वीप समूहलाई भूकम्प–संवेदनशील प्रशान्त रिम अफ फायरमा हल्लायो । पोर्ट भिलामा अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डको कूटनीतिक मिशनद्वारा प्रयोग गरिने चारतले कङ्क्रिट भवनको भुइँ तला पूरै भत्किएको एएफपीले जनाएको छ ।
अमेरिकी र फ्रान्सेली दूतावासका कर्मचारीहरू सुरक्षित रहेका दुवै मुलुकले जनाएका छन् । अमेरिकाले अर्को सूचना नआउन्जेलसम्म आफ्नो दूतावास बन्द गरेको छ भने फ्रान्सले आफ्नो मिशन ‘नष्ट’ भएको जनाएको छ ।
ज्ञातव्य छ, वार्षिक विश्व जोखिम प्रतिवेदनका अनुसार भानुआटु भूकम्प, आँधीबेहरीको क्षति, बाढी र सुनामी जस्ता प्राकृतिक प्रकोपका लागि सबैभन्दा बढी संवेदनशील देशहरूमध्ये एक हो ।
प्रतिक्रिया