- द्रोण अधिकारी, भद्रपुर (झापा)
तराईका जिल्लाहरू मध्ये धेरै धान उत्पादन हुने जिल्ला झापामा पछिल्लो वर्ष कोदो उत्पादनमा पनि उल्लेख्य वृद्धि हुन थालेको छ ।
झापा जिल्लामा यस वर्ष ७३ हजार ९५० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा उत्पादकत्व ५.०५ मेट्रिक टन प्रतिहेक्टर देखिन्छ भने झापामा यस वर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । धानमा आत्मनिर्भर झापाले कोदोमा पनि माग धान्न उत्पादन बढाउन थालेको हो ।
घरेलु मदिरा उत्पादनका लागि महत्वपूर्ण अनाजको पहिचान बनाएको कोदो मानव शरीरका लागि पौष्टिक आहारको रूपमा रहेको अनाज हो । रक्तअल्पता भएका मानिसका लागि आइरनको मात्रा प्रदान गर्ने कोदो पहाडी क्षेत्रको लोकप्रिय खाना पनि हो । पछिल्ला वर्षहरूमा कोदो खेतीप्रति पहाडी क्षेत्रमा आकर्षण घट्तै गइरहेको समयमा झापामा भने अनुदान कार्यक्रमका कारण यस खेतीमा आकर्षण थपिन गएको देखिन्छ ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रतिहेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए । उनका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।
भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा रु एक हजारका दरले प्रोत्साहन स्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताए । विमलीका अनुसार कोदो खेतीमा अनुदान दिने नीति लिएपछि खेती गर्ने बिशानको संख्यामा समेत वृद्धि हुन थालेको छ ।

कोदो जस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलले बताए । पोखरेलका अनुसार जैविकताको सुरक्षाका लागि पनि कोदो, फापर जस्ता प्राचीन खाद्यन्न उत्पादन र उपभोग अनिर्वाय देखिएको छ ।
रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र नभइ स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पुऱ्याउने समेत नगर प्रमुख पोखरेलको भनाइ छ ।
नीति तथा कार्यक्रममै व्यवस्था गरेर नगरपालिकाले आगामी वर्षमा कोदो खेतीको क्षेत्रफल विस्तार गर्दै प्रविधि हस्तान्तरण र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको नगर प्रमुख कथन छ ।
प्रतिक्रिया