रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनार प्रदूषित

रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनार प्रदूषित


हजारौँ टन तेल समुद्रमा चुहिएपछि र, किनारहरूमा ५० किलोमिटर क्षेत्र प्रदूषित भएपछि रूसले सफाइ अभियान विस्तार गरेको छ । यो घटना तेल ट्याङ्कर जहाजहरू एउटा आँधीका कारण दुर्घटनाग्रस्त भएपछि भएको थियो ।

एउटा पुरानो रूसी तेलट्याङ्कर टुक्रिएर डुबेको थियो भने अर्को मस्को-एनेक्स्ड क्रिमिया र दक्षिणी रुसको क्रास्नोडार क्षेत्रबीचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएको थियो ।

रुसको आपत्कालीन मन्त्रालयले बुधबार (१८ डिसेम्बर) अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने र कूल ७० किलोमिटर समुद्र तटमा गस्ती गर्ने काम गरिरहेको बताएको छ ।

दुई ट्याङ्करले करिब नौ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको देखाएको सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।

क्रिमियन समुद्री अनुसन्धानकर्ता सर्गेई स्टानिचनीलाई उद्धृत गर्दै तासले स्याटेलाइट तस्बिरहरूले डुबेको ट्याङ्करबाट अझै पनि तेल चुहिएको देखाएको रिपोर्ट गरेको छ । तीव्र बतासले तेललाई दक्षिणी रुसको समुद्र तटतिर धकेलिरहेको छ ।

करिब ९० हजार जनसङ्ख्या भएको अनपाको समुद्रीतट रिसोर्टले आपत्कालीन अवस्था घोषणा गरेको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले स्वयंसेवक र आपत्कालीन कामदारहरूको सङ्ख्या बढेर दुई हजार सात सय पुगेको जनाएको छ । तिनीहरूले समुद्र तटबाट कालो तेल निकाल्दै प्लास्टिकको बोरा र खन्ने ट्रकहरूमार्फत तहलगाएका थिए ।