साङ्गीतिक कार्यक्रम प्रस्तुतिका लागि भारतीय गायक सोनु निगम काठमाडौंमा

साङ्गीतिक कार्यक्रम प्रस्तुतिका लागि भारतीय गायक सोनु निगम काठमाडौंमा


भारतका प्रसिद्ध गायक सोनु निगम साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।

सोनु निगमको १९ सदस्यीय साङ्गीतिक समूह (ब्याण्ड मेम्बर) आज (१० पुस) बिहानै आइपुगेपनि उनीचाहिँ एयरइन्डियाको विमानमार्फत दिउँसो आइपुगेका हुन् ।

नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन नेपाल आएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिए ।

उनले भनेका छन्, ‘मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु । नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु ।’

आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताए ।

कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शूल्क राखिएको छ । गायक निगमले स्वर दिएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेर न’लगायत लोकप्रिय छन् ।