हिमाली जिल्ला मनाङ हिउँचितुवाको बासस्थान भएको क्षेत्र मानिन्छ । हिमालकी रानी भनेर उपनाम पाएको हिउँ चितुवा लोपोन्मुख वन्यजन्तुको सूचीमा पर्दछ ।
वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने वन्यजन्तु हिउँचितुवाको संरक्षण र अवलोकनका लागि यहाँ होटल सञ्चालनमा ल्याइएको छ । पारिस्थिकीय प्रणालीको संरक्षणका लागि पनि हिउँचितुवाको भूमिका महत्त्वपूर्ण रहने भएकाले यसको संरक्षण र अवलोकनका निम्ति सहज बनाउने उद्देश्यले होटल खोलिएको जनाइएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका-८ गुम्छाङमा स्नो लियोपार्ड ह्यावन (हिउँ चितुवाको स्वर्ग) नामकरण गरी होटल सञ्चालन गरिएको छ । लामो समयदेखि होटल तथा पर्यटन व्यवसायमा सम्बद्ध पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष एवं होटल सञ्चालक विनोद गुरूङले पारिस्थितिकीय प्रणालीको सन्तुलन गर्ने जीव लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि होटल सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
तीन हजार नौ सय मिटर उचाइमा अवस्थित यस होटलबाट नाङ्गो आँखाले प्रत्यक्ष हिउँ चितुवा हेर्न सकिने जिकिर गर्दै अध्यक्ष गुरुङले भनेका छन्, “जनवरी, फेब्रुअरी, मार्च र अप्रिल महिनामा हिउँ चितुवाको अवलोकन सिजन हो, यसका साथै हिमालमा रहने विभिन्न प्रजातिका चराचुरूङीको अवलोकन गर्न सकिन्छ, अत्यधिक चिसोका कारण आहाराका लागि हिउँ चितुवा तल्लो क्षेत्रमा झर्ने गर्दछन्, यसका आहार पनि चिसोले गर्दा तल झर्ने हुँदा सहज रूपमा हेर्न सकिने अवस्था छ ।”
यस्ता होटल सञ्चालनमा आएपछि यहाँ ‘अफसिजन’मा पनि पर्यटकको आगमन बढाउन सहयोग पुग्ने अध्यक्ष गुरुङको विश्वास छ । उनका अनुसार विदेशी मात्रै नभई स्वदेशी पर्यटकको पनि आगमनले यहाँको पर्यटन व्यवसाय बाह्रै महिना चलायमान बनाउनेछ । यस होटलमा योगा, ध्यान गर्नका लागिसमेत व्यवस्थापन गरिएको बताइएको छ ।
गुम्छाङ थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बास बस्नका लागि उपयुक्त स्थानसमेत हो । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् ।
rss
प्रतिक्रिया