परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास

परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास


कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गर्नुभएको छ । लम्की चुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकारको शनिबार (१३ पुस) आयोजित एक विशेष कार्यक्रमबीच उहाँले शिलान्यास गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल सम्पन्न हुनुका साथै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्’, उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिमकासाथै समग्र मुलुकको समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हुनेछ ।’

“काठमाडौंको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरूको दक्षता, अनुभव र क्षमताअनुसार यो केबलकार प्रोजेक्ट समयमा सम्पन्न होस् भनी कामना गर्दछु’, उहाँले भन्नुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यहाँ निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन, विदेशी मुद्रा थप आर्जन गर्न, रोजगारी नयाँ अवसर सिर्जना गर्न, थप राजस्व उठाउन सकिन्छ । हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल पर्यटन प्रवर्द्धनबाट सम्भव छ ।’

लम्की चुहाँ नगरपालिका–३ को चिसापानीबाट मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने तीन दशमलव एक किमी लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल रु पाँच अर्ब लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याङ्क्वेट हल निर्माण हुनेछन्भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन् ।

तस्बिर : रासस