- मुक्तिनाथ भुसाल
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा छैठौं अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०८१ सञ्चालन हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, स्थानीय उत्पादनको प्रयोग : रोजगारीको मुख्य आधार’ भन्ने नारासहित मेला पौष २९ गतेदेखि माघ १२ गतेसम्म सदरमुकामको कुडुलेफाँटमा सञ्चालन हुने खबर सार्वजनिक भएपश्चात स्थानीय सर्वसाधरणमा खुशी छाएपनि केही असन्तुष्टिसमेत सार्वजनिक भएका छन् ।
शुरुमा अर्घाखाँची उद्योग व्यापार संघले पत्रकार सम्मेलनमार्फत् ‘महोत्सव जिल्लाको हितमा नभएको’ लगायतका धारणा सार्वजनिक गरेपनि संघको असन्तुष्टि पत्रकार सम्मेलनमै सीमित रह्यो । मेला आयोजनाको विरोधमा थप गतिविधि सञ्चालन गरेको देखिएन । यस्तै, मदरल्याण्ड टोल विकास संस्थाले पनि महोत्सव सञ्चालन हुनुहुँदैन भन्दै वडाकार्यालय, नगरपालिका, प्रशासन लगायतमा ज्ञापनपत्र बुझाए पनि महोत्सव सञ्चालनमा बाधा नपुग्ने बुझिएको छ ।
यहाँनेर रोचक सन्दर्भ के रह्यो भने, कुनै समय सन्धिखर्कमा महोत्सव सञ्चालन गरिसकेको एक पक्षले यसपालि महोत्सव सञ्चालनमा जिल्लाका सरोकारवाला पक्षहरूसँग कुरा नमिलेपछि यही पुस २१ गते फर्वाड नेपाल मल्टीप्रपोज नामक कम्पनीका तर्फबाट सन्धिखर्क नगरपालिका कार्यालयलाई इमेलमार्फत निवेदन पठाएको बुझिन आएको छ । उक्त निवेदनमा यसपालिको मेला आयोजनाको जिम्मेवारी आफूलाई दिए अर्घाखाँची अस्पतालमा ब्लड बैंक स्थापनाका लागि नगद रु ६५ लाख सहयोग गर्ने उल्लेख भएपनि यहाँका नागरिकहरूले उक्त ‘बेमौसमी निवेदन’लाई खासै गम्भिरताका साथ नलिएको विषय सामाजिक सञ्जालमार्फत स्पट भएको छ ।
फर्वाड नेपालको आकर्षक अफरसहितको निवेदन नगरपालिकाले प्राप्त गरेको दुई दिनअगावै महोत्सव सञ्चालनका लागि अर्घाखाँची उद्योग बाणिज्य संघले सन्धिखर्क नगरपालिकाको कार्यपालिका बैठकबाटै अनुमति लिएको बुझिएको छ । नगरपालिकावाट अनुमति पाउनुभन्दा करिव एक साता अघिदेखि आफ्नो तयारीमा लागेको अर्घाखाँची उद्योग बाणिज्य संघले हालसम्म गरिएको लगानी हिसाब गर्न आएमा मेलाको जिम्मा जो–कसैलाई पनि दिन सकिने बताएको छ ।
बुझिएअनुसार रु ६५ लाखको अफर जिल्लाले पाउनु सुखद पक्ष भएकोले तय गरेको मेला सम्पन्न हुँदाको भोलिपल्टै उक्त कम्पनीले मेला सञ्चालन गरेमा आफूहरूको पूर्ण साथ रहने अर्घाखाँची उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । यसैप्रकार कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गर्ने, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला, संस्कृति र सभ्यतालाई प्रवर्द्धन गर्ने, उत्पादक तथा सेवाप्रदायक र उपभोक्ताबीच बलियो सम्बन्ध बनाउँदै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आफूहरूले विना स्वार्थ मेला सञ्चालन गर्न लागेको र यसका लागि जिल्लाका राजनैतिक दल, सञ्चारकर्मी, व्यापारी र राज्यका निकायहरूबाट आफूहरूलाई सहयोग रहेको महोत्सव मूल समारोह समितिका संयोजक एवं अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले जानकारी गराइसकेका छन् ।
विगतको सन्दर्भ स्मरण गरी भन्नुपर्दा सन्धिखर्क सदरमुकाममा हालसम्म सञ्चालन भएका धेरैजसो महोत्सवहरू जिल्लास्तरीय र राष्ट्रियरूपमै विवादास्पद बनेको इतिहास रहेको छ । कुनै समय महोत्सव उद्घाटनका लागि हेलिकप्टर चढेर केन्द्रबाट आएका प्रमुख अतिथिलाई सेना र प्रहरीले जोगाएर सुटुक्क काठमाडौं पठाएका थिए । जिल्लामा महोत्सव सञ्चालन हुँदा सर्वसाधरणले कमसल भएपनि सस्तोमा लत्ताकपडा खरिद गर्ने हुँदा यहाँका फेन्सी व्यवसायीहरूलाई मात्रै महोत्सवले घाटा हुने देखिन्छ ।
जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही पुस २९ गतेदेखि सञ्चालन हुने महोत्सवको उद्घाटन लु्म्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने बुझिएको छ । महोत्सवमा तीन सय पचास भन्दा बढी स्टलहरू राखिने र स्थानीय कृषि, दुग्धजन्य उत्पादनका लागि ५० स्टल निःशुल्क रहने जनाइएको छ । यसैगरी जिल्लाका व्यापारीहरूका लागि ५० प्रतिशत छुटमा स्टल उपलब्ध गराउने तयारी रहेको उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम बन्जाडेले जानकारी गराएका छन् । महोत्सव अवलोकनका लागि विद्यार्थीहरूलाई ५० रुपैयाँ र सर्वसाधारणलाई ८० रुपैयाँ प्रवेश शुल्क तोकिएको भएपनि जेष्ठ नागरिक, अशक्तहरूलाई प्रवेश निःशुल्क गरिएको छ । महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्रीहरू, कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरू, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामग्रीहरू, कृषि औजारका सामग्रीहरू लगायतको स्टलहरू रहने संघका सचिव सन्तोष बस्नेतले बताएका छन् ।
प्रतिक्रिया