युनाइटेड क्लबको आयोजनामा पोखरा महोत्सव

युनाइटेड क्लबको आयोजनामा पोखरा महोत्सव


१३औं संस्करणको पोखरा महोत्सव-२०८१ आज (२५ पुस) देखि सुरु हुँदैछ । युनाइटेड क्लब, पोखराले २५ पुसदेखि ७ माघसम्म अमरसिंहचौरमा आयोजना गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको क्लब महासचिव तथा प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका २ सय ५८ स्टल राखिने छन् । महोत्सव साढे २ लाखसम्म दर्शकले हेर्ने तथा करिब २५ लाख बचत हुने आयोजकको अनुमान छ ।

क्लबले २०६७ सालमा पहिलोपल्ट पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणसँगै पोखरामा खुला चिडियाखाना निर्माणमा सहयोग गर्दै आइरहेको छ । क्लबले पोखराको अर्चलेमा युनाइटेड छात्राबास निर्माण थालनीसमेत गरेको छ ।

महोत्सवको पूर्व सन्ध्यामा क्लबले आफ्नै जग्गामा युनाइटेड छात्राबासको शिलान्यास समेत गरिसकेको र १३औं संस्करणको पोखरा महोत्सवपश्चात छात्राबासको कामको सुरुवात हुने क्लब अध्यक्ष लोकबहादुर थापाले बताए ।

बताइएअनुसार मेलामा दैनिकरुपमा कलाकारहरुको प्रस्तुति हुनेछ । टिकटक प्रतियोगिता, बुद्धिचाल प्रतियोगितासहित अष्ट्रिच प्रदर्शनीसमेत महोत्सवको अर्को आकर्षण हो । महोत्सवमा लोकदोहोरीतर्फ राजु परियार, बद्री पंगेनी, ज्योति मगर, रचना रिमाल, श्याम राना, शान्तिश्री परियार, प्रकाश दूतराज, सम्झना लामिछाने मगर, शान्तारानी परियार, अस्मिता अधिकारी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल लगायत कलाकारको प्रस्तुति हुनेछ । कन्सर्टमा जेम्सी, भिटेन, टुकी, उर्गेन, दि फिरन्ते, लाहुरे एण्ड ब्याड कम्पनी, रक हेड्स, पूर्ण राई एण्ड दाजुभाइहरु, सुगम पोखरेल एण्ड बाजागाजा, कबवेव र लोकल ब्याण्डहरुको प्रस्तुति रहनेछ ।

यस्तै, हांस्यव्यङ्ग्य नेपाली संस्कृति झल्कने प्रस्तुति, बालउद्यान, विद्यालयस्तरीय सामूहिक लोकनृत्य, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने छन् ।

महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालि रहेको छ भने प्रायोजकहरुमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रिकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धी अटो पार्टस् एण्ड मोटरसाइकल वर्कसप, शिवचोक, ओमडा जेको, भिजन२ लिंक कन्सल्टेन्सी प्रालि रहेका छन् ।