- आरपी उपाध्याय, नवलपरासी
साना किसान कृषि सहकारी संस्था लि. त्रिवेणी (नवलपरासी)को २८औं साधारणसभा लक्ष्मीपुरमा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सरस्वती बस्नेतको अध्यक्षता तथा विनयी त्रिवेणी गा.पा. अध्यक्ष घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि गिरीले विनयी त्रिवेणी ७ मा पर्ने साना किसान कृषि सहकारी संस्थामा देखापरेको समस्या समाधान गर्न पाँच सदस्यीय कार्यदल गठन गरि सहकारी समस्या समाधान गरिने बताएका छन् । सो अवसरमा उनले आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण कार्य त्रिवेणी दुम्किबास सडक रहेको बताउँदै विद्यमान कानुनी जटिलतालाई अन्त्य गरि आफ्नो कार्यकालको बाँकी समयमा सडक निर्माण कार्य गरि छोड्ने जिकिर पनि गरे ।
साधारणसभामा साना किसान,लघु बित्त वित्तीय संस्था, केन्द्रिय कार्यालयका सञ्चालक सुखदेव न्यौपानेले साना किसान कृषि सहकारी संस्थामा समूह अन्तरसमुह हुँदै संस्थाका सेयर सदस्यले ऋण सिफारिस गर्दा पारदर्शी हुँदै आएको बताउँदै अधिकांश साना किसान सहकारी संस्थाका सञ्चालकहरुले आफैले गरेको निर्णय आफुले नै बुझ्न नसकेको हुँदा समस्या चुलिएको जिकिर गर्दै सबै सहकारी कर्मीहरुले विधि, विधान सम्मत ढंगले अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
साधारणसभामा विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष नुरेन्द्र शाह, साना किसान बैंक बुटवल शाखा प्रबन्धक शेर बहादुर चौधरी, सल्लाहकार दिपक कुँवर, शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश कुँवर लगायतले सहकारी गतिविधिमाथि प्रकाश पारेका थिए ।
साधारणसभामा संस्थाकी अध्यक्ष बस्नेतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारी कार्यक्रममा सबैले सहमति, सहकार्य, एकताको भावनाले अगाडि बढ्नुपर्ने उल्लेख गर्दै असहमतिमा पनि सहमतिको माध्यमबाट अगाडि बढियो भने गन्तव्यमा पुग्न सकिने विचार व्यक्त गरे ।
कार्यक्रममा लेखा समिति सदस्य रामकाजी खड्काले लेखा समितिको प्रतिवेदन र पशु बिमा उपसमितिका संयोजक भोलानाथ लामिछानेले पशु बिमासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले गत आ.व.मा कुल १ करोड ६४ लाख शुद्ध नाफा गरेको साधारणसभामा जानकारी गराइएको थियो ।
साना किसान कृषि सहकारी संस्था त्रिवेणीमा पछिल्लो केही समययता विनियमसम्बन्धी गरिएको प्रावधान कार्यान्वयन गर्दा बढेको असन्तुष्टिले सारा सहकारी क्षेत्रमा नै निराशा छाएको पनि सहभागीहरुले बताएका छन् ।
संस्थामा भएको समस्या समाधान गर्न प्रकाश कुँवरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि गठन भएको छ । जसको सदस्यहरुमा यमप्रसाद पौडेल, सरिता शर्मा, नुरेन्द्र शाह र सुस्ता १ का वडा अध्यक्ष अशोक चौधरी रहेका छन् ।
कार्यदलले संस्थाभित्र मौलाएको प्रशासनिक र वैधानिकताबारे अध्ययन गरी प्रतिवेदन तयार पारी विनयी त्रिवेणी गाउँपालिकाको कार्यालयमा बुझाउने निर्णय भएको जानकारीमा आएको छ ।
प्रतिक्रिया